top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

चीन भ्रमणमा इन्धन सम्झौता नहुने

५ चैत, काठमाडौं ।अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण टोलीमा नपरेका आपूर्तिमन्त्री गणेशमान पुनले अहिले नभए पनि कुनै बेला चीनसँग इन्धन सम्झौता हुने बताएका छन् ।

‘इन्धन सम्झौतासहितका प्रस्ताव हामीले पठाएका छौं । प्रधानमन्त्रीको भ्रमण टोलीमा म सहभागी नरहे पनि अन्य बेला इन्धन सम्झौता हुनसक्छ’, मन्त्री पुनले अन्नपूर्णसँग भने, ‘चीनबाट इन्धन आपूर्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा पनि चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा छलफल भएको छ ।’
प्रधानमन्त्री टोलीमा आपूर्तिमन्त्री पुनलाई सहभागी नगराइएपछि अहिले इन्धन व्यापार सम्झौता हुने सम्भावना लगभग टरेको हो । प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि एक साता चीन भ्रमण गर्दैछन् ।
चीनसँग इन्धन व्यापार र द्विपक्षीय सम्झौताको मस्यौदा आपूर्तिमन्त्री पुनले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयको रायसुझावसहित अनुमोदन गराइसकेका थिए ।



इन्धन व्यापार सम्झौता भएमा ३० प्रतिशत डिजेल, पेट्रोल, मट्टीतेल, हवाईइन्धन र एलपी ग्यास चीनबाट आपूर्ति गराउने तयारी गरिएको थियो ।

वाणिज्यमन्त्री दीपक बोहोरा भने प्रधानमन्त्री नेतृत्वको टोलीमा सहभागी छन् । यसअघि गत कात्तिक ११ गते नेपाल आयल निगम र चीन सरकारको स्वामित्वको पेट्रो चाइनाका अधिकारीले इन्धनको व्यापार गर्ने विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

भारतले नाकाबन्दी लगाएर इन्धन अभावमा मुलुक अस्तव्यस्त भएपछि सरकारले चीनसँग इन्धन आपूर्ति गर्ने विकल्प अगाडि सारेको थियो ।

भारत सरकारले नेपाललाई चाहिने इन्धन उपलब्ध गराउने आश्वासन दिएपछि तत्काल चीनबाट इन्धन आपूर्ति गर्ने सम्झौता नहुने सम्भावना बढेको स्रोतले बतायो ।

चीन र नेपालबीच इन्धन व्यापार गर्ने विषयमा सहमति भए पनि दुई पक्षबीच बिजिनेस टु बिजिनेससम्बन्धी सम्झौता भएको छैन ।

सरकारी तहमा सम्झौता नभएसम्म व्यापारिक कारोबार सुरु हुन सक्दैन । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा इन्धन आपूर्ति सम्झौता गर्ने तयारी गरिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment