२ चैत । एकपछि अर्को प्राकृतिक विपद्ले गर्दा गोरखाका भूकम्पपीडित समस्यामा छन् । भूकम्प, वर्षा र हिमपात झेलेका भूकम्पपीडितले फेरि हावाहुरीको विपद् झेल्नुपरेको हो ।
फागुन दोस्रो सातादेखि दिनहुँ बेलुकीपख आएको हावाहुरीले भूकम्पपीडितका अस्थायी शिविरका जस्तापाता उडाएको छ । चिसो स्याँठले शिविरका वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, मान्वु, केरौंजा, काशीगाउँ, सौरपानी, स्वाँरा, घ्याच्चोक, ताकुकोट, सिम्जुङ, मुच्चोकलगायत भूकम्पपीडितको बाक्लो बसोबास रहेका गाविसमा हावाहुरीले क्षति पु¥याएको छ । सरकारले अस्थायी आवास प्रयोजनका लागि दिएको जस्तापाता हावाहुरीले उडाएपछि भूकम्पपीडित झन् पीडामा छन् ।
लाप्राकका बिसबहादुर गुरुङका अनुसार गुप्सीमा रहेका ६१७ टहरामध्ये ३० वटा भन्दा बढीको छाना हावाहुरीले उडाइसक्यो । “बिहान, दिउँसो र बेलुकी जोडले हावा चल्छ,” उनले भने – “टहराको छानो उडाएर लग्यो खोज्न कहाँ जाने ?” लाप्राकका भूकम्पपीडितले वैशाख १२ देखि गुप्सीमा टहरो बनाएका हुन् । त्यसअघि गुप्सीपाखा भेँडाच्याग्रा चराउने खर्क थियो । लाप्राकका अधिकांश मानिस पुरानै लाप्राक फर्किसकेका छन् । तर स–साना बालबच्चा भएका परिवारका सदस्य गुस्सीकै टहरोमा बस्दै आएका छन् । गुप्सीमा मणिकामदेवी माध्यमिक विद्यालय भएकाले पढ्न आउन गाउँदेखि टाढा हुँदा केही मानिस गुप्सीमै बस्दै आएका हुन् । गुप्सीमा खानेपानीको पनि समस्या रहेको पीडितको गुनासो छ ।
“चैत महिनाभर हावाहुरी आएमा गुप्सीमा एउटै टहरो बाँकी रहँदैन,” उनले भने – “जस्तापाता बिग्रन्छ भनेर किलाकाँटीको प्रयोग गरिएन ।” सरकारले दिएको जस्तापाता लाप्राकीले सुरक्षित राखेका छन् । किलाकाँटी प्रयोग गर्दा जस्तामा प्वाल बन्ने र पक्की घर बनाउँदा सो जस्तापाता प्रयोग गर्न नपाइने हो कि भन्नेमा उनीहरुको चिन्ता छ । केही भूकम्पपीडितले टहरोमाथि ढुङ्गा राखेर जस्तापाता अड्याएका छन् । ढुङ्गाले थिचेपछि हावाहुरी आउँदा टहरोको जस्तापाता उडाएर लैजान सक्दैन । गुप्सी दुई हजार ७०० मिटर उचाइको डाँडामा रहेकाले पनि जोडले हावाहुरी चलेको स्थानीयवासी बताउँछन् ।
गुप्सीपाखामा पक्की घर बनाउने तयारी गरे पनि सरकारले अनुदान रकम दिन गरेको ढिलाइले नयाँ घर बनाउन नपाएको लाप्राकी गुनासो गर्छन् । तर लाप्राकीले पुरानै लाप्राक गाउँमा पुराना घर मर्मत तथा पुनःनिर्माण गरिसकेका छन् । यी घरहरु बस्न योग्य छैन । “अन्नपात थन्क्याउने ठाउँ नभएपछि घर बनायौँ,” लाप्राक–२ का चामबहादुर गुरुङले भन्नुभयो – “मक्किएका काठपातले बनाएको घर कतिन्जेल टिक्छ र ?” पुरानो लाप्राक गाउँमा पुरानै काठपातको जोडाइले घर बनाइएको हो । हावाहुरी र वर्षाबाट बच्न बनाइएका जोखिमयुक्त घरमा दुई महिनादेखि उनीहरु बस्दै आएका छन् ।
हावाहुरीले दिनहुँ सताएपछि बारपाक–४ का भीम गुरुङले नयाँ घर निर्माण सुरु गरेका छन् । सरकारी अनुदान रकम आउन ढिलाइ भएपछि आफूले ऋण खोजेरै घर निर्माण गर्न सुरु गरेको गुरुङले बताए । “सरकारले पैसा दिन्छ र घर बनाउँला भनेर पर्खने होइन,” उनले भने – “अनुदान रकम आउँदै गर्छ । मापदण्डमा टेकेर घर बनाउने हो ।” सरकारी मापदण्डमा घर बनाएका भूकम्पपीडितलाई पछि सरकारले अनुदान रकम दिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै बारपाक–२ का गोर्खाली साइला गुरुङले पनि नयाँ घर बनाएका छन् । हावाहुरी र बर्खाको पानीबाट जोगिन घर बनाएको बताउँदै गुरुङले भने – “भूकम्प गएको वर्ष बित्न लाग्यो, सरकारले घर बनाउन पैसो दिएन । कति सरकारको बाटो हेरी बस्ने ?” एकतले घर बनाएका उनले कुखुरापालन गर्न सडक छेउमा गोठ पनि बनाइसके । “आफ्नै दुःखले घर बनाउने हो, अरू आएर आफ्नो घर बनाइदिँदैन” – उनले भने ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पले चिरा परेका जमिनमा बस्ती बसाल्न उपयुक्त नहुने भन्दै गोरखाका अधिकांश वस्ती सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको थियो । तर ती निर्णय कुनै पनि कार्यान्वयनमा आएन । भूकम्पपीडित पनि पुरानै गाउँ फर्केर दैनिक जीवन निर्वाहको काममा जुटिसकेका छन् ।
यस्तै भूकम्पका बेला चिरा परेका जमिन पनि परकम्पले गर्दा मिलिसकेको भूकम्पपीडित बताउँछन् । हावाहुरी, बर्खाको जोखिमबाट बच्न भूकम्पपीडितले दुई लाखदेखि छ लाखसम्म ऋण काढेर घर बनाएका छन् । भूकम्पको प्रभाव कम परेको क्षेत्र नं १ र २ का केही गाविसमा पुरानै घर मर्मत गरेर बसोबास सुरु गरिएको छ । तर यी घर जोखिमयुक्त छन् । सानो रेक्टरको भूकम्प जाँदा पनि ढल्न सक्ने खतरा भएका घरमा मानिस बसोबास गर्दै आएका छन् । नयाँ घर बनाउन पैसाको अभाव भएका र सरकारी अनुदान पर्खेर बसेकाले घर बनाउने सुरसार नगर्दा समस्या थपिँदो छ ।
यस्तै, उत्तरी भेगमा पनि हिमपातबाट जोगिन पुरानै घर मर्मत गरिएको छ । माटोको प्रयोग नगरी ढुङ्गा र काठबाट मात्रै सिर्दिवासदेखि माथिका क्षेत्रमा घर बनेका छन् । यी भेगमा निर्माण सामग्री ढुवानी गर्न मुख्य चुनौती देखिएको छ । गोरखाका उत्तरी सात गाविसबाहेक अन्यत्रका गाविसमा पुगेर इन्जिनियरले भूकम्पको क्षति र त्यसपछिको आवासको अवस्थाबारे लगत सङ्कलन गरेकाले अब छिट्टै पुनःनिर्माणको चरण सुरु हुने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
हर्ड नामक संस्थाले गाउँका घरघरमा इन्जिनियर र सामाजिक परिचालक खटाएर विद्युतीय तथ्याङ्क सङ्कलन जारी राखेको छ । नक्कली भूकम्पपीडित बढेर सक्कली सरह राहत, अनुदानको दाबी गरेपछि लगत सङ्कलन गर्नुपरेको हो । पुनःनिर्माणको चरणमा भूकम्पपीडितले बैंक खाता खोलेपछि अनुदान रकम पाउने व्यवस्था मिलाइएको छ । बैंक खाता खोल्न झन्झट मान्ने पीडितहरु न्यानो कपडा खरिद गर्न वितरण जरेजस्तै गरी रकम वितरण गर्नुपर्ने बताउँछन् । किस्ताबन्दीमा रकम दिँदा अनेक समस्या खेप्नुपर्ने उनीहरुको तर्क छ । रासस
No comments:
Post a Comment