२ चैत । विश्व स्वास्थ्य संगठनले हालैमात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको पाइएको छ ।
मङ्गलबार सार्वजनिक सो तथ्यमा वातावरणीय प्रदुषण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो ।
विश्व स्वास्थ्य संगठनको सो तथ्यांकअनुसार सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र कामगर्ने गरेका कारण भएको पाइएको थियो ।
यो मृत्यु त्यसवर्ष विश्वमा कुनै न कुनै सङ्क्रमण या रोगका कारण भएका मृत्युमध्ये २३ प्रतिशतभन्दा केही बढी हुनआउछ ।
संसारका सबै देशले यसरी नागरिकले बस्ने र कामगर्ने वातावरणमा परिवर्तन नल्याउने हो भने नागरिकको मृत्यु यसै कारण पनि हुने र यही अवस्थाले नै निरन्तरता पाउन सक्ने खतरा रहेको देखिन्छ– उक्त अनुसन्धानमा पाइएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख मार्गरेट चानले भन्नुभयो– पछिल्लो अनुसन्धानबाट देखिएको यो खतरनाक अवस्थामा परिवर्तन ल्याउन अब वातावरणीय सरसफाइमा ध्यान दिनु जरुरी छ ।
वातावरणमा दिनानुदिन थपिँदै गएको प्रदुषण, कार्य क्षेत्रमा प्रयोग गरिने विभिन्न खालका रसायन, जलवायु परिवर्तनको प्रभावका साथै रसायनको प्रयोगका कारण उत्पन्न भइरहेको परावैजनी किरणहरुको कारण नै विश्वमा मृत्युको एक प्रमुख कारण रहेका छन् ।
विश्वमा हरेक वर्ष कम्तीमा पनि ८२ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारणले हुने गरेको पाइएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसअन्तर्गत अरुले पिएको चुरोटको धुवाँ पनि पर्ने गर्दछ । वायु प्रदुषण तथा अर्काेले पिएको चुरोटको धुवाँका कारण मानिसमा स्वासप्रस्वाससम्बन्धी समस्या, मुटुरोग र क्यान्सरको नै खतरा हुने सो अनुसन्धानमा पाइएको छ ।
वायु प्रदुषणका कारण हुने गरेका अनिच्छुक चोटपटकले गर्दा पनि करिब १७ लाख मानिसको निधन भएको छ । यो निधन पनि कुनै पनि व्यक्तिको निवास र कार्यस्थलमा हुने गरेको वायु प्रदुषणकै कारण हुने गरेको पाइएको छ । रासस÷एएफपी
No comments:
Post a Comment