top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

एउटा राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रुपमा प्रयोग गर्न चाहन्नौ - प्रम ओली


५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर दुवै ठूला छिमेकीबाट लाभान्वित हुन चाहे पनि कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रुपमा प्रयोग गर्न भने नचाहेको बताउनु भएको छ  ।

प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई चैत ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो ।

कसैसंग मागेर विकास नहुने बताउदै प्रधानमन्त्री ओलीले  नेपालका उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पार्नुभयो ।


उहाँले चीन भ्रमणक्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा चिनियाँ जनकाँग्रेसका प्रमुख, चीनको व्यापारिक समुदायलगायतसँग भेटवार्ता हुने पनि जानकारी दिनुभयो । उहाँले आफूले बोआओ सम्मेलनमा भाग लिने पनि बताउनु भएको छ ।

आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधि भएको तथा आफूबाट देशलाई हानी हुने कुरामा कुनै सम्झौता नहुने कुरामा आश्वस्त पार्दै प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताउनुभयो ।

उहाँले नेपाल–चीनबीच पारवहन तथा व्यापारको स्वरुपबारे अध्ययन गरेर सम्झौतामा पुग्ने गरी समझदारी हुने पनि सो अवसरमा जानकारी दिनुभयो ।

No comments:

Post a Comment