top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

एसिडी बैठकमा भाग लिन उपप्रधानमन्त्री थापा थाइल्याण्ड प्रस्थान


काठमाडौँ, २६ फागुन । एसियाली मुलुकको साझा क्षेत्रीय मञ्च एसिया कोअपरेसन डाइलग (एसिडी)को १४औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आज थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभयो ।

एसिडीका अध्यक्ष एवम् थाइल्यान्डका विदेशमन्त्री डन प्रामुड्युनेइको निमन्त्रणामा उपप्रधानमन्त्री थापा उक्त बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

परराष्ट्रमन्त्री थापाले एसिडी अतिथि अध्यक्षका रुपमा बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार र बिहीबार हुने उक्त बैठकले नेपालको सदस्यता अनुमोदन गर्ने प्रायः निश्चित भएको छ । बैठकले नेपालको सदस्यता अनुमोदन गरेमा नेपाल एसिडीको ३३औँ सदस्य हुनेछ ।

सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच पारस्परिक निर्भरता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले १४ वर्षअघि एसिडी थाइल्यान्डमा स्थापना भएको हो । एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार, विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता वृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसिडीको अर्को उद्देश्य हो । हाल उक्त क्षेत्रीय मञ्चमा एसियाका ३३ मुलुक सदस्य छन् ।

एसिडी बैठकमा मन्त्री थापाका साथ परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, उक्त दूतावासका नियोग उपप्रमुख जङ्गबहादुर गुरुङ र परराष्ट्र मन्त्रालयका उपसचिवद्वय भरतकुमार रेग्मी र द्रुपदा सापकोटाले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल रमेश खनाल, सहसचिवद्वय ताराप्रसाद पोखरेल र दुर्गाबहादुर क्षेत्रीले बिदाइ गर्नुभयो ।

उपप्रधानमन्त्री थापा सोही दिन बैंककबाट नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ । आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरले त्यहाँ आयोजना गर्ने विश्व सांस्कृतिक महोत्सवमा सम्मानित अतिथिका रुपमा उहाँले भाग लिने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपप्रधानमन्त्री थापा शनिबार स्वदेश फर्कनुहुनेछ । रासस

No comments:

Post a Comment