बर्दिया, ८ चैत - नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया पुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी त्याहाँ पुगेका हुन् ।
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनेछन् । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्याउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन् ।
आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जाने छन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने बेलायती दूतावासले जनाएको छ । रासस
No comments:
Post a Comment