२८ फागुन । जिल्लामा दर्ता भएका २२ वटा हाते कागज उद्योग लोक्ताको समस्याका कारण सङ्कटमा परेका छन् ।
घरेलु तथा साना उद्योग समितिमा दर्ता भएका उद्योगले जिल्ला वन कार्यालबाट कच्चापदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने नियम छ, तर लिएको सङ्कलन पूर्जी बराबरको लोक्ता नपाउँदा ती उद्योग सङ्कटमा परेका हुन् । विसं २०६४ पछि जिल्ला वन कार्यालयले लोक्ता सङ्कलन पूर्जी बन्द गरेको छ ।
जिल्लाका डोगडी, दहकोट, मनाकोट, कोल्टी, पाण्डुसैन, कैलाशमाडाँैंलगायत गाविसमा केही वर्ष अघिसम्म प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय संरक्षणको अभावमा यो कम हुँदै गएको छ । आर्थिक वर्ष २०७१÷७२ मा सामुदायिक वनबाट ७०० किलोको पूर्जी वितरण गरिएको थियो । तर राष्ट्रिय वनबाट कुनै पनि उद्योगले सङ्कलन पूर्जी वितरण गरिएको छैन ।
निमित्त जिल्ला वन अधिकृत विशाल लामाका अनुसार जिल्लामा २८१ सामुदायिक वन र १९२ कबुलियत वन रहेका छन् । यहाँका उपभोक्तालाई लोक्ता सङ्कलनको प्राविधिक ज्ञान समेत छैन । “सङ्कलकले लोक्ता जरैबाटै निकाल्ने गरेका छन, यसरी सङ्कलन गरेका कारण लोक्ता अभाव भएको हो” उनले भने ।
जिल्लामा लोक्ता सङ्कलन गरेबाफत प्रतिकिलोको रु पाँच राजस्व सङ्कलन हुने गरेको छ । “न्यून मात्रामा लोक्ता पाइन्छ, ढुवानी गर्न समेत समस्या छ” पाण्डुसैनमा बौद्ध नेपाली हातेकागज उद्योग सञ्चालन गरेका मङ्गल थापाले पीडा सुनाए । कच्चापदार्थ नपाएर उद्योगलाई समस्या भएको उहाँको भनाइ छ ।
कच्चापदार्थ नपाउँदा उद्योगीले छिमेकी जिल्लाबाट कागज ल्याउनुपर्ने वाद्यता रहेको डोगडीमा हाते कागज उद्योग सञ्चालन गरिरहेका रामबहादुर रावत बताउछन् । “उद्योग बन्द गर्नुपर्ने स्थिति छ” उनले भने । बीउ र जरा नै नराखी लोक्ता सङ्कलन गर्दा समस्या आएको हो । रासस
No comments:
Post a Comment