top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

तीन दिने सम्मेलन दुई दिनमै समापन


२८ फागुन । ताप्लेजुङ सदरमुकाम फुङ्लीङमा बुधबारदेखि तामझामका साथ सुरु भएको तीन दिने ३२औँ वार्डेन सेमिनार तथा १४औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । 

‘जैविक विविधता संरक्षणका लागि कानुनी परिमार्जनको आवश्यकता’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने भन्दै बुधबार उद्घाटन गरिएको सम्मेलन गए राति नै केही रणनीति मात्र सार्वजनिक गर्दै अकस्मात सकिएको छ । 

सम्मेलनमा जैविक विविधता संरक्षणका लागि कानुनी परिमार्जनका लागि विशेष सङ्कल्प प्रस्ताव तयार पार्ने भनिएको भए पनि परिमार्जनसम्बन्धी सामान्य पारित सङ्कल्प प्रेस विज्ञप्तिमार्फत सार्वजानिक गरिएको छ । 

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार जिल्ला अदालतमा वन, वन्यजन्तु सम्बन्धी मुद्दाको फैसला गर्न सम्बन्धित क्षेत्रका विज्ञ समावेस हुने गरी ‘ग्रिन बेञ्च’ स्थापना गर्न पहल गर्ने, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९लाई समय सापेक्ष बनाउनका लागि प्रक्रिया अघि बढाउने र दायर गरिएका मुद्दालाई थप बलियो बनाउन मुद्दा अनुसन्धानलगायतका विषय समावेस गरी सम्बन्धित राष्ट्रसेवकको क्षमता अभिवृद्धि गर्ने रहेका छन् । यस्तै विज्ञप्तिमा २१ वटा महत्वपूर्ण सङ्कल्प पारित गरिएको भनिएको भए पनि सोही विज्ञप्तिमा आठवटा बँुदा मात्रै उल्लेख गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेललगायत देशभरका वार्डेन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सहभागी सम्मेलनमा संरक्षणका लागि हाल देखिएका कानुनी बाधा फुकाउन कानुन परिमार्जन, मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सुविधा तथा यस क्षेत्रको व्यवस्थापनलगायतका विषयमा महत्वपूर्ण निर्णय र सङ्कल्प भएको सम्मेलनमा सहभागी एक अध्यक्षले बताएका छन्् । तर अध्यक्ष, कर्मचारीको सेवा सुविधा र देखिएका समस्या समाधानका लागि सरकार सामु पहल गर्ने विषयका आठवटा सामान्य बुँदा मात्रै पत्रकार समक्ष सार्वजानिक गरिनुमा वार्डेननै अचम्मित भएका छन् । 

यता सम्मेलनले २१ वटा सङ्कल्प पारित गरेको र ती सङ्कल्पका बुँदालाई भाषागत रुपमा मिलाउन समय लाग्ने भएकाले हाल केही बुँदा मात्र सार्वजनिक गरिएको ताप्लेजुङका वार्डेन हेमराज आचार्यले बताए । 

तीन दिने सम्मेलन हतारमा दुई दिनमानै गएराति अवेरमा सक्दै सम्मेलनमा सहभागी केही अध्यक्ष, वार्डेन तथा अतिथि आजदेखि जिल्लाका केही ठाँउमा घुमफिरका लागि निस्किएका छन् । 

नेपाल सरकार र विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)को ठूलो आर्थिक लगानीका साथ सम्पन्न सम्मेलनमा जैविक विविधताको संरक्षणका लागि आगामी एक वर्षे कार्ययोजना बनाउने, कार्यन्वयन र हाल संरक्षणका सम्बन्धमा देखिएका समस्याको समाधानको उपाय खोज्ने महत्वपूर्ण काम भए पनि सम्मेलन औपचारिकतामा सीमित भएको संरक्षण विदहरुकै गुनासो छ । रासस 

No comments:

Post a Comment