top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

तथ्याङ्क प्रणालीलाई जीवन उपयोगी बनाइनुपर्छ : डा खतिवडा


काठमाडौँ, १० चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले मुलुकको तथ्याङ्क प्रणालीलाई व्यवस्थित र जीवनोपयोगी बनाइनुपर्ने बताउनुभएको छ । 

विश्व तथ्याङ्क दिवसको अवसरमा केन्द्रीय तथ्याङ्क विभागले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सही तथ्याङ्कको सही ढङ्गले प्रयोग भएमात्र त्यसको प्रतिफल परिणाममुखी हुने उल्लेख गर्नुभयो । 

“सही तथ्याङ्कलाई नीति निर्माणमा प्रयोग गर्न सकेको खण्डमा मात्र मानिसले त्यसको यथोचित लाभ लिन सक्छन् । उपभोक्तामा सचेतनाको जरुरी छ । कुन तथ्य, विधि र पद्धतिबाट गरिएको हो, त्यसको सान्दर्भिकता छ कि छैन भन्ने कुरालाई ध्यान दिइनुपर्छ,”–उपाध्यक्ष डा खतिवडाले भन्नुभयो । 

उहाँले तथ्याङ्कको महत्वलाई स्थापित गर्दै सुदृढ र प्रभावकारी बनाई प्रशासनिक तथ्याङ्कलाई सुरक्षित र उपयोगितामा लैजानुपर्ने आवश्यकता रहेको दोहो¥याउनुभयो । 

तथ्याङ्कलाई एकद्वार र एकीकृत प्रणालीमा लैजान नसकेकै कारण गुणस्तरीय व्यवस्थापनमा चुनौती बढेको भन्दै उहाँले तथ्याङ्क सङ्कलनसँगै त्यसको विश्लेषणात्मक पक्षलाई पनि समेटिनुपर्नेमा जोड दिनुभयो । 

आयोगका सचिव सुरेशमान श्रेष्ठले तथ्याङ्कको गुणस्तर व्यवस्थापनका लागि दक्ष जनशक्ति र प्रविधिको भरपूर उपयोग गरिनुपर्ने खाँचो औँल्याउनुभयो । 

एक सय वर्ष नाघिसकेको मुलुकको तथ्याङ्क प्रणालीलाई अझै प्रविधिमैत्री बनाउन चुनौतीपूर्ण रहेको सम्बद्ध पदाधिकारी बताउँछन् । 

अर्थशास्त्री डा डिल्लीराज खनालले तथ्याङ्कीय प्रणालीका विद्यमान कमजोरीलाई समयसापेक्ष सुधार गरिनुपर्नेमा जोड दिनुभयो । 

विभागका महानिर्देशक सुमनराज अर्यालले सय वर्षभन्दा बढीको इतिहास बोकेको तथ्याङ्क विभागलाई प्रविधिमैत्री बनाउन निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । 

विभागकै उपमहानिर्देशक हेमराज रेग्मीले तथ्याङ्कीय रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै तथ्याङ्कसम्बन्धी विद्यमान ऐन, कानुन परिमार्जन नहुनु र समन्वयको अभावले तथ्याङ्कीय प्रणालीमा चुनौती थपिएको बताउनुभयो । 

वरिष्ठ पत्रकार भैरव रिसाल र शिक्षासेवी प्रा डा मृगेन्द्रलाल सिंहले तथ्याङ्क विभागलाई प्रशासकीय रुपमा मात्र नभई प्रविधिमैत्री बनाइनुपर्ने बताउनुभयो । 

विभागले विगत पाँच वर्षदेखि नेपालमा पनि विश्व तथ्याङ्क दिवस मनाउँदै आएको छ । 

यसैबीच विभागले तथ्याङ्क प्रणालीको विकासमा उल्लेख्य योगदान पु¥याएबापत पूर्व सचिव नरकान्त अधिकारी, मधुसुदन ढकाल, पत्रकार रिसाल र शिक्षासेवी सिंहलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । 

त्यस्तै विभागमा २५ वर्ष सेवा गरेका विभिन्न तहका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । रासस 

No comments:

Post a Comment