top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

सरकारी कार्यालयको नक्सा पास गर्ने क्रम बढ्यो


काठमाडौँ, १० चैत । पछिल्लो समय नक्सा स्वीकृत गरेर मात्र सरकारी भवन निर्माण गर्ने क्रम बढ्न थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माण भएका ९९ प्रतिशत सरकारी भवन नक्सा स्वीकृत नभई निर्माण सम्पन्न हुने गरेकामा अहिले नक्सा स्वीकृत गराउने थालिएको छ ।

नगरपालिकाभित्र भवन निर्माणका लागि नक्सापास अनिवार्य भए पनि सरकारी भवन नक्सा पास नै नगरी निर्माण भएको छ । यसरी नियम कार्यान्वयन गर्ने निकायले नै नियमविपरीत काम गर्नु राम्रो होइन प्रमुख तामाङले भन्नुभयो ।

सरकारी र अर्धसरकारी तथा व्यक्तिगत प्रयोजनका घरसँगै व्यावसायिक भवन निर्माण हुँदा पनि नक्सा पास हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो समय बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको भवन, नक्सा स्वीकृत भएर नै बनेको छ, त्यसैगरी नेपाल टेलिकमको निर्माण हुन लागेको भवनको पनि नक्सा स्वीकृत भइसकेको, विद्युत् प्राधिकरण भवन पनि निर्माणको लागि पनि नक्सा स्वीकृत भइसकेको सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताउनुभयो ।

प्रमुख थापाका अनुसार सिंहदरबारभित्र रहेको भवन सुरक्षाको दृष्टिकोणले बलियो रहेको भए पनि पनि नक्सा स्वीकृत भने भएका छैनन् ।

भूकम्पको समयमा त्यस्ता भवन बढी क्षति भएकाले पछिल्लो समय निर्माण गर्न लागिका सरकारी भवन पनि नक्सा पास भई निर्माण हुन लागेको हो प्रमुख तामाङले भन्नुभयो ।

भवन निर्माण हुन पूर्व सबैले अनिवार्य रुपमा नक्सा पास गनुपर्ने कानुनी व्यवस्था रहेको छ । चालु आवबाट लागू गरिएको नियमअनुसार सरकारी कार्यालयले स्वीकृत नलिई कुनै पनि भवन निर्माण गरेमा वा नक्सा पास नगरी निर्माण भएको भवनमा कार्यालय मात्र राखेमा पनि कारबाही हुने व्यवस्था छ ।

सरकारी भवनलाई महानगरले लिने विभिन्न करमा छुटको व्यवस्था रहेकाले त्यसका लागि अनिवार्यरुपमा नक्सा पास गरी भवन निर्माण गर्नुपर्ने हुन्छ ।

नक्सा स्वीकृत नभई नागरिकले भने अहिले घर निर्माण गर्न पाउने छैनन् । नक्साविपरीत निर्माण भएका भवनको पछिल्लो समय महानगरपालिकाले निर्माण सम्पन्न प्रमाणपत्रसमेत नपाउने नियम रहेको छ ।



निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त नभएसम्म उक्त भवन बेच्न, बैंकमा राखी ऋण निकाल्न, नामसारी गर्न, हकदाबी गर्नसमेत नपाउने व्यवस्था भएपछि पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिन आउनेको सङ्ख्यामा समेत वृद्धि भएको महानगरले बताएको छ । रासस

No comments:

Post a Comment