Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 10, 2016
सार्क विदेश मन्त्रिस्तरीय बैठकका लागि सिँगारिँदै पोखरा
वासुदेव पौडेल
पोखरा, २८ फागुन ।
यही चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ ।
उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण पोखरा यतिखेर दुलहीजस्तो बनेको छ ।
काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र उक्त समितिलाई विषयगत रुपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिलाई यतिखेर भ्याइनभ्याइ भएको छ ।
सहयोग समितिअन्तर्गत सुरक्षा व्यवस्था समिति, सौन्दर्यीकरण तथा सरसफाइ समिति, स्वागतद्वार निर्माण समिति, सांस्कृतिक कार्यक्रम समिति, अत्यावश्यक सेवा सञ्चालन समिति, स्वास्थ्य सेवा समिति, विमानस्थल व्यवस्थापन समिति, ट्राफिक व्यवस्थापन समिति, स्वागत व्यवस्थापन समिति, निर्माण तथा पूर्वाधार समिति र सम्मेलन कक्ष व्यवस्थापन समिति रहेका छन् ।
क्षेत्रीय प्रशासन कार्यालयका उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार जिम्मेवारी तोकिएअनुसार सहयोग समितिहरू आ–आफ्नो काममा सक्रिय बनेका छन् ।
बैठकलाई लक्षित गरी अत्यावश्यकीय सेवा प्रवाह गर्ने सम्पूर्ण निकायमा पत्राचार गरी निर्देशन दिइसकिएको उहाँले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयले गत फागुन ५ गते मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत विषयगत सहयोग समिति गठन गर्न पत्राचार गरेको थियो ।
पोखराको सौन्दर्यीकरणका लागि पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक, राष्ट्रबैंक चोक, होटल ग्रान्ड, होटल साङ्ग्रिला, होटल फिस्टेललगायतका ठाउँमा विभिन्न १७ वटा स्वागतद्वार निर्माण गरिएको पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पृथ्वीचोकदेखि बैठकस्थल र विशिष्ट पाहुना जाने स्थानमा विभिन्न जातका ३०० वटा बिरुवा रोपिसकिएको छ भने दैनिक सरसफाइ कार्य जारी राखिएको छ ।
बैठकलाई नै लक्षित गरी पोखरा विमानस्थलदेखि मुस्ताङ चोक हँुदै होटल ग्रान्ड, होटल ग्रान्डदेखि होटल साङ्ग्रिलासम्मको बाटो मर्मत गरिसकिएको जानकारी दिँदै अधिकारीले मुस्ताङ चोकदेखि होटल फिस्टेलसम्मको बाटो आज मर्मत गर्न लागिएको बताउनुभयो ।
विमानस्थलदेखि बैठकस्थल र होटेलसम्म जाने सडकको दक्षिणतर्फको विद्युत्का पोल पर सारिएको छ भने सडक मार्गमा पर्ने चोक, सडक पेटी, प्रतीक्षालय तथा बोटबिरुवामा रङ लगाइएको र बाटोमा पर्ने सम्पूर्ण होर्डिङबोर्ड पनि हटाइसकिएको छ ।
विशिष्ट पाहुनाका लागि आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका साथै उहाँहरू चढ्ने सम्पूर्ण सवारी साधन पनि तयारी अवस्थामा राखिसकिएको र यी सबै तयारी लगभग १५ दिनको अन्तरालमा सम्पन्न भएको उहाँले बताउनुभयो ।
बैठकको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताउँदै क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत ऋषिराम आचार्यले पोखराले विशिष्ट पाहुनाको स्वागतको प्रतीक्षा गरिरहेको बताउनुभयो । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment