९ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा आज अबिर रङ खेलेर यो पर्वको मज्जा लिनुभएको छ ।
पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गाँैडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाउनुभएको हो । ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।
पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुग्नुभएका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल हुनुभएको थियो ।
बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुग्नुभएका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।
नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गर्नुभएका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित हुनुहुन्छ । वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन हुनुहुन्छ ।
ह्यारी आजै बिहान सुन्दर पर्यटकीय नगरी पोखरा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले गोर्खा ब्रिटिस क्याम्पको भ्रमण गर्ने कार्यक्रम छ । रासस
No comments:
Post a Comment