अस्पतालमा कार्यरत अनमी शिवकुमारी चौधरीले उनलाई भर्ना गरिन् ।
त्यही राती २ बजे सुवेदी सुत्केरी भइन् । उनले साढे दुई किलोग्राम तौल भएकी छोरी जन्माइन् ।
अस्पताल भर्ना हुँदा श्रीमानको नाम राखिएको छैन । तर, बच्चाको पिताको नाम रामबहादुर सुबेदी उनले उल्लेख गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार सुबेदीले बच्चा छाडेर गएपछि अस्पतालका सञ्चालक बिरदेव महतोले बच्चा किन्ने ग्राहकको खोजी गरे । बच्चा किन्ने ग्राहक भेटियो ।
त्यही क्रममा सप्तरी फत्तेपुर २ की दिलकुमारी चौधरीलाई बोलाएर बच्चा जिम्मा लगाइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
२२ गते बेलुका सात बजे अस्पताल प्रशासनले चौधरीलाई बच्चा दिइरहेका बेला नियन्त्रणमा लिएको लहान प्रहरीले जनाएको छ ।
अस्पतालको भर्ना विवरणमा सुत्केरीको नाम सकुन्तला सुवेदी उल्लेख छ । तर, बच्चाको बर्थ सर्टिफिकेटमा आमाको नाम दिलकुमारी चौधरी र बुबा सैलेन्द्र चौधरी उल्लेख गरिएको छ । दिलकुमारीले उक्त बच्चा आफूले नजन्माएको प्रहरीमा बयान दिएकी छिन् ।
अस्पतालका सञ्चालकहरुले आर्थिक लेनदेनको आधारमा दिलकुमारीलाई बच्चा दिन लागेको प्रहरीको आरोप छ । पक्राउ परेका अस्पतालका कर्मचारीहरुले पनि सञ्चालकहरुको निर्देशन अनुसार काम गरेको बताउदै आएका छन् । अस्पतालका सञ्चालकहरु बिरदेव महत्तोसहित दुर्गा महत्तो, मनोज साह र निरञ्जन शाक्य हुन् ।
बच्चा किन्ने दिलकुमारी के भन्छिन ?
सप्तरी फत्तेपुर २ का सैलेन्द्र चौधरीसंग मेरो ५ वर्षअघि बिबाह भएको थियो । ५ वर्षसम्म पनि बच्चा नभएपछि धेरै अस्पतालमा जचाँए । अब बच्चा नहुने भो भनेर निरास थिएँ । लबकुस अस्पतालमा कार्यरत उषा चौधरीले भाउजु नाता पर्ने शोभालाई फोन गरेर गाउँमा कसैलाई बच्चा चाहिएको छ भने अस्पतालमा छ भन्दै खबर गरेछ । शोभाले मलाई खबर गरिन् ।
बच्चा जन्माउने आमा २२ गते १० बजे नै डिस्चार्ज भइसकेकी रहिछन् । मलाई त्यही दिन दिउँसो खबर आयो । ‘बच्चा कस्तो छ ?’ मैले उषालाई सोधें । राम्रो र स्वस्थ्य भएको थाहा भएपछि म त्यही दिन साँझ अस्पताल आइपुगे । गाडीबाट ओर्लेपछि उषाले नै अस्पतालसम्म लगिन् । बच्चा लिएर अस्पतालको छतमा बसिरहेका बेला मलाई प्रहरीले समात्यो ।
अस्पतालक सञ्चालक बिरदेवले बच्चा किन्ने मान्छे खोज्न लगाएपछि उषाले ग्राहकको खोजी गरेको प्रहरीले जनाएको छ । बच्चा किनबेच भइरहेको खबर पाएपछि प्रहरी अस्पताल पुग्दा सुरुमा बच्चा भेटाउन मुस्किल प¥यो ।
पछि खानतलासीका क्रममा दिलकुमारी बच्चासहित अस्पतालको छतमा फेला परिन् । प्रहरी पुग्दा ग्राहक खोजी गर्न निर्देशन दिने अस्पताल सञ्चालक बिरदेव चौधरी पनि दिलकुमारीसंगै थिए । तर, प्रहरीले बच्चाको खोजी गर्न थालेपछि उनी फरार भए ।
बच्चा किन्ने ग्राहक खोज्ने उषा चौधरी
अवकुश अस्पतालमा कार्यरत सिएमए गरेकी उषा चौधरीको घर उदयपुर सुन्दरपुर ५ हो । दिलकुमारीका जेठाजु बुदुर चौधरीको बिबाह पनि सुन्दरपुरमै भएको थियो । उषा र बुदुरको चिनजान थियो । उषाले आफनो भाउजु नाता पर्ने शोभा चौधरीलाई अस्पतालमा बच्चा रहेकाले लैजाने मान्छे खोज्न भनिन् । ‘सञ्चालक विरदेवले अराएपछि मैले शोभालाई फोन गरेर बच्चा लैजाने मान्छे खोज्न भनेको हो,’उषाले स्वीकारिन् ।
को–को पक्राउ परे ?
सप्तरी फत्तेपुर २ घर भई हाल सप्तकोशी नगरपालिका १ बस्ने सैलेन्द्र चौधरीकी श्रीमती वर्ष २३ की दिलकुमारी चौधरी, उदयपुर सुन्दरपुर ५ बस्ने नरसिंह चौधरीकी छोरी वर्ष २२ की उषा चौधरी, सप्तरी कुशाह ६ बस्ने हरिनारायण चौधरीकी छोरी २३ बर्षकी शिवकुमारी चौधरी (अनमी), सिराहा नहरारिगोल ५ बस्ने तेजनारायण विश्वकर्माकी छोरी २१ बर्षकी जुनमाया विश्वकर्मा (अनमी) र सिराहा नवराजपुर २ बस्ने शिवनाथ यादवका छोरा २१ बर्षका चन्द्र किसोर यादव पक्राउ परेका छन् ।
कसले के गरे ?
पक्राउ परेकी अनमी शिवकुमारी चौधरीले सुत्केरी बेथा लागेर आएकी सुवेदीलाई भर्ना गरिन् । उनको डयूटी सकिएपछि जुनमायाले जिम्मेवारी लिइन् । जुनमायाले सुवेदीलाई नर्मल डेलिभरी गराइन् । उनको डयूटी बिहान सात बजे सकियो । २२ गते दिउँसो एक बजे शिवकुमारी अस्पताल आइन् । अस्पतालका सञ्चालक बिरदेवले बच्चा किन्ने आमा खोज्न निर्देशन दिएपछि शिवकुमारीले उषालाई बोलाइन । शिवकुमारीले नै जुनमायालाई बच्चाको बर्थ सर्टिफिकेट बनाउन लगाइन् ।
कहाँ छ बच्चा ?
बेचखनमा पर्न लागेको बच्चा धर्मपुत्री बनेकी छिन् । स्थानीय प्रशासनले दिलकुमारीले छोरी बनाउन चाहेको बच्चालाई काठमाडौं महानगरपालिका २९ की रिता तुलाधरलाई धर्मपुत्री बनाउन जिम्मेवारी दिएको छ । तुलाधरलाई धर्मपुत्री बनाएर पाल्न दिनु भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपछि लहान प्रहरीले तुलाधरलाई चैत ५ मा दिएको हो ।( स्वास्थ्य खबर )
No comments:
Post a Comment