२८ फागुन । आत्महत्याको विवरण लेखी आफ्नो फेसबुकमा बिहीबार हालेका एक युवकलाई नेपाल प्रहरीले परामर्श दिएर बचाएको छ ।
फेसबुक आयरल्याण्डले उक्त पोस्टपछि प्रोफाइल अध्ययन गरी आज बिहान १ बजेतिर नेपाल प्रहरीलाई जानकारी गराई जीवनरक्षाको लागि अनुरोध गरेको थियो ।
सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले प्रहरी निरीक्षक पशुपतिकुमार रायको नेतृत्वमा प्रहरी टोली खटाई अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानबाट आत्महत्या गर्न लागेको युवक झापा जिल्ला बस्ने स्नातक तहमा अध्ययनरत रहेको पत्ता लगाई आवश्यक परामर्श दिएर दुर्घटना हुनबाट जोगाएको महाशाखाका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
महाशाखाको टोलीले ती युवकलाई फोन सम्र्पक गरी सम्झाउनुका साथै झापा प्रहरीलाई समेत परिचालन गरेको थियो ।
सामान्य अवस्थामा आएपछि प्रहरीको तदारुकताप्रति धन्यवाद ज्ञापन गर्दै त्यस युवकले अब उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आफ्ना किशोरवयका छोराछोरीको क्रियाकलापमाथि विशेष ध्यान दिएर सम्भावित खतराबाट जोगिन आवश्यक सल्लाह र सुझाव दिन महानगरीय अपराध महाशाखाले अभिभावकसँग अनुरोध गरेको छ ।
No comments:
Post a Comment