top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

३ महिनाका लागि रुकुम अन्धकारमा !


चैत ८  । रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । 

जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् । 

विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताउनु भयो । 

विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले उल्लेख गर्नु भयो । 


जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ । 

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् । 

पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ । 

दुई सय ५० किलोवाटको क्षमता रहेको उक्त आयोजनाबाट हाल २०० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको प्रमुख केसीले बताउनुभयो । 

मेसिन पुरानो हुनु, नहर जीर्ण बन्दा पानी चुहावट हुनुलगायतका कारणले क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको थिएन । 

तीन महिनासम्म विद्युत् सेवा बन्द भएपछि जिल्लामा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, सबै ठप्प हुने भएका छन् । यसका साथै जिल्लाबाट प्रकाशनमा रहेको पत्रिकासमेत बन्द हुने भएका छन् । रासस 

No comments:

Post a Comment