top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

विराटले एकाएक मूल्य घटायो ,पेट्रोलको गुणस्तरमाथि नै शंका

काठमाडौं,१ चैत । उपभोक्तासँग चर्को मूल्य असुलेर पेट्रोल बेचिरहेको विराट पेट्रोलियमले झुटो दलिल अघि सारेर कालोबजारी गरेको पुष्टि हुँदै छ। अन्तःशुल्क नै महँगो परेकाले भाउ चर्किएको दाबी गर्ने विराटले आइतबार एकाएक मूल्य घटाएपछि उसले वितरण गरेको पेट्रोलको गुणस्तरमाथि नै आशंका उब्जिएको छ। 
२० प्रतिशतभन्दा नाफा राख्न नपाइने कानुनी सीमा मिचेर प्रतिलिटर १ सय ३० रुपैयाँमा पेट्रोल बेचेको विराटले चौतर्फी आलोचनापछि आइतबार भाउ घटाएर आयल निगमकै सरह ९९ रुपैयाँमा बेच्न थालेको हो ।

 विराटले यु–४ मापदण्डको पेट्रोल बेचेको दाबी गर्दै आएको छ ।त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरका व्यवस्थापक राजकुमार महर्जनले आइतबारदेखि प्रतिलिटर ९९ रुपैयाँमा बेच्न मिल्ने गरी विराटले पेट्रोल उपलब्ध गराएको बताए । ‘शनिबारसम्म १ सय ३० रुपैयाँमा बेचेका थियौँ,’ उनले नागरिकसँग भने, ‘चार दिन बेचेपछि मूल्य परिवर्तन भयो ।’ माली आयल, कालिमाटी, भ्याली रिकेश आयल स्टोर्स, गैरीगाउँ र जयन्ती आयल स्टोर्स, त्रिपुरेश्वरले निगमकै अनुमतिमा विराटको महँगो पेट्रोल बेच्दै आएका थिए ।


प्रतिलिटर ३९ रुपैयाँ ६० पैसामा खरिद गरेको तेल अन्तःशुल्क, कर, ढुवानी, व्यवस्थापन, प्राविधिक क्षति, वित्तीय शुल्क, डेमरेजलगायत खर्च जोडेर १ सय ३० रुपैयाँमा बेच्दा पनि १३ रुपैयाँ ७ पैसा घाटा भएको विराटको दाबी थियो ।

 निगमले भने ९९ रुपैयाँमा बेच्दा पनि १७ रुपैयाँ नाफा हुने बताउँदै आएको छ ।भारतबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १०.३२ पैसा अन्तःशुल्क लाग्ने भए पनि विराटले २४ रुपैयाँ ९४ पैसा बढी देखाएर उपभोक्ता ठगेको खुलेको छ । ‘विराटले भारतमा ३५ रुपैयाँ २८ पैसा अन्तःशुल्क तिरेँ भन्नु झुटो हो,’ निगमका एक निर्देशकले भने, ‘प्रतिलिटर १० रुपैयाँ ३२ पैसा मात्र अन्तःशुल्क लाग्छ तर विराटले ३५ रुपैयाँ २८ पैसा लाग्यो भनेर सबैलाई झुक्यायो ।’अाजको नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment