गुल्मी, २७ फागुन । गुल्मीको रिडीमा पहिलोपटक रुरुक्षेत्र सञ्चार सेवा स्थापना गरिएको छ । गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आग्रहमा गुल्मी जिल्ला समाज युकेको आर्थिक सहयोगमा उक्त सञ्चार सेवाको स्थापना गरिएको हो ।
धार्मिक एवम् ऐतिहासिक स्थल रुरुक्षेत्रको प्रचारप्रसार गर्नुका अतिरिक्त त्यस क्षेत्रमा हुने विभिन्न घटनाका बारेमा तत्कालै सूचना प्रवाह गर्ने उद्देश्यले उक्त सञ्चार सेवा केन्द्रको स्थापना गरिएको उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष सुवर्णलाल कक्षपतिले जानकारी दिनुभयो ।
उक्त सेवा केन्द्रको उद्घाटन गर्दै गुल्मी जिल्ला समाज युकेका अध्यक्ष अर्जुन गौतमले एकै ठाउँबाट धेरै व्यक्तिलाई एकैपटक सूचना प्रवाह गर्नका लागि उक्त सञ्चार सेवा निकै उपयोगी हुने बताउनु भयो । रुरुक्षेत्र सञ्चार सेवा स्थापना गर्नका लागि गुल्मी जिल्ला समाज युकेले रु चार लाख ५१ हजार रुपैयाँ उपलव्ध गराएको थियो । गुल्मी जिल्ला समाज युकेद्वारा उपलब्ध गराएको सहयोगबाटै रुरुमा पहिलोपटक यस्तो प्रकारको सञ्चार सेवा स्थापना गरिएको हो ।
उक्त सेवा केन्द्रले रिडी बजार क्षेत्रका मुख्य मुख्य चोकमा एक दर्जनभन्दा वढी माइक जडान गरी उज्यालो नाइन्टी नेटवर्कको समाचारलगायत स्थानीय सूचना र जानकारी दिन सुरु गरेको बताइएको छ । रासस
No comments:
Post a Comment