top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

प्रम ओली र राजकुमार ह्यारीबीच शिष्टाचार भेटघाट !


 ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच आज साँझ शिष्टाचार भेट भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भएको २० मिनेट लामो सो भेटमा दुई देशबीच दुई शताब्दी लामो सम्बन्ध र मित्रताबारेमा केन्द्रित रहेर विचार विमर्श भएको थियो । 

भेटका अवसरमा राजकुमार ह्यारीले नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चा गर्नुभएको थियो । 

उहाँले विशेषगरी बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

आफू पनि गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको राजकुमार ह्यारीले अनुभव सुनाउनुभएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । 

सो अवसरमा राजकुमार ह्यारीले भन्नुभयो – “गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पु¥याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” 

भेटका अवसरमा प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमार ह्यारीमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, भुइँचालोपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले संविधानसभाबाट जारी भएको नेपालको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता प्रकट गर्दै दुईसय वर्षदेखिको नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो । 

बेलायतका राजकुमार ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आइपुग्नुभएको हो । 

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आउनुभएको हो । 

नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलो पटक नेपाल आउनुभएको हो । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गर्नुभएको थियो । 

युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट पनि नेपालको भ्रमण भइसकेको छ । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो । रासस 

No comments:

Post a Comment