८ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो चैत १४ गते मलेसिया (यु–२२) सँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गर्नुभएको हो ।
केही महिना अघि भारतमा सम्पन्न सागमा स्वर्ण पदक जितेका खेलाडीको बाहुल्यता भएको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् ।
गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।
त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् भने ‘फरवार्ड लाइन’ भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् ।
अघिल्लो महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक कोजीले नेपालको फुटबल विकासका लागि सकेको सहयोग गर्न आएको बताउनुभयो ।
उहाँले फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराएर दक्षिण पूर्वी एसियास्तरमा पु¥याउने लक्ष्य रहेको बताउँदै भन्नुभयो, “नेपालमा धेरै सिप र क्षमता भएका खेलाडी रहेछन् । म सबै खेलाडीलाई परीक्षण गर्दै फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराउन चाहन्छु ।”
No comments:
Post a Comment