चैत ८ । प्राकृतिक उपचार विधि अवलम्बन गर्ने लोटस प्राकृतिक अस्पताल तथा रिसर्च सेन्टर यहाँ सञ्चालनमा आएको छ ।
आज चितवनका पत्रकारलाई निःशुल्क उपचार दिएर सेवा सुरु गरिएको हो । दश श्यया रहेको अस्पतालमा केही समयका लागि सर्वसाधारणलाई समेत निःशुल्क सेवा दिने जनाइएको छ । भरतपुरमा भएको पत्रकारसम्मेलनमा प्राकृतिक उपचार विधिका चिकित्सक तथा अस्पतालका प्रबन्धक डा सङ्ग्राम पुरीले बिनाऔषधि प्राकृतिक एवम् अन्य वैकल्पिक विधिद्वारा बिरामीको उपचार गरिने बताउनुभयो ।
उहाँले प्राकृतिक वस्तु र साधनको समुचित प्रयोग गरी उपचार गर्ने र रोगको नभई रोगीको उपचार गर्नुपर्छ भन्ने सिद्धान्तअनुसार यहाँ सेवा दिइने बताउनुभयो । सस्तो र सुलभ भएकाले यो अस्पतालमा जुनसुकै आर्थिक अवस्थाका बिरामीको समेत पहुँच हुने बताइएको छ ।
सुरुआती चरणमा प्राकृतिक आहारसहितको अन्तरङ्ग सेवा, विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण, प्राकृतिक चिकित्सा, चाइनिज विधिको अक्युपञ्चर, अकुप्रेसर, फिजियोथेराफी, रिहाबिलिटेसन सेवा, मसाज थेरापी, स्टिम बाथ, माटो चिकित्सा, योग ध्यान र मनोवैज्ञानिक सेवा उपलब्ध हुने सो क्रममा जानकारी दिइएको थियो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट पिनास, टाउको दुखाइ, ढाड, कम्मर दुखाइ, एलर्जी, दम, मानसिक तनाव, उदासीनता, मधुमेह, उच्च रक्तचाप, कब्जियत लगायतका समस्याको उपचार गरिने जनाएको छ । अस्पतालमा आवासीय सुविधासहितको उपचार हुने अध्यक्ष लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।
यहाँ आवासीयरुपमा बस्दा एक हजार ५०० देखि दुई हजार रुपैयाँसम्म लाग्छ । प्राकृतिक आहारको व्यवस्था र प्राकृतिक पञ्चतत्वको प्रयोग गरेर समेत यहाँ उपचार गरिने बताइएको छ । रासस
No comments:
Post a Comment