चैत ७ । जिल्ला कृषि विकास कार्यालयले पाँच हजार २९५ भूकम्पपीडितलाई २० मेट्रिक टन मकैको बीउ वितरण थालेको छ ।
स्थानीय गाविसको सहयोगमा कृषिका कर्मचारीले आजैबाट किसानलाई बीउ वितरण थालेका हुन् । जिल्लाका पहाडी गाविस कविलास, काउले दारेचोक, चण्डिभञ्याङ, दाहखानी, लोथर र साविक शक्तिखोरका किसानलाई बीउ वितरण सुरु गरिएको हो ।
कार्यालय प्रमुख सोमनाथ घिमिरेका अनुसार दारेचोकका एक हजार ९३०, लोथरका ५९०, शक्तिखोरका २७०, दाहखानीका ४१०, कविलासका ५२५ काउलेका एक हजार ११५ र चण्डिभञ्याङका ४५५ भूकम्पपीडितलाई बीउ वितरण थालिएको हो । उक्त मकैको बीउ प्रतिकिलो रु ८० पर्छ ।
यसअघि कार्यालयले सिद्धि र कोराक गाविसमा साढे दुई मेट्रिक टन मकैको बीउ वितरण गरिसकेको छ । सिद्धिका २३० परिवारलाई प्रतिपरिवार क्षतिअनुसार चारदेखि २० किलोसम्म बीउ उपलब्ध गराइएको घिमिरेले जानकारी दिनुभयो । कार्यालयले मकै खेती प्रवद्र्धनका लागि विभिन्न कृषि उजप तथा यान्त्रिक सामानमा अनुदान दिँदै आएको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा २८ हजार ९०० हेक्टर क्षेत्रफलमा ९७ हजार ४७५ मेट्रिक टन मकै उत्पादन भएको तथ्याङ्क छ । विशेषगरी वसन्ते, बर्खे र हिउँदे मकैको तीन खेती गरिँदै आएको छ । पहाडी गाविसमा रामपुर कम्पोजिट, अरुण २ लगायत स्थानीय जातका मकै लगाइन्छ भने अन्य ठाउँमा हाइब्रिड सिपी, ८०८, राजकुमार लगायत मकै लगाउने गरिएको कृषि विकास कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment