काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले सहमति, सहकार्य, समझदारी र आपसी विश्वासको मेलमिलापबाट मधेस समस्या समाधान गर्न काँग्रेस कृतसङ्कल्पित रहेको बताउनुभएको छ ।
काँग्रेसको १३आँ महाधिवेशनबाट नवनिर्वाचित डा कोइरालाले आज विज्ञप्ति प्रकाशित गर्दै प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टि रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– “आजको परिहार्यता राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो । यही जगमा टेकेर राष्ट्रिय एकता, मेलमिलाप, समन्वय, सहकार्य, समझदारी, सामाजिक सद्भाव, सामञ्जस्य र आपसि विश्वासको वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो ।”
विज्ञप्तिमा उनले पार्टीमा तरुणको जोश, जागर र क्रियाशीलता काँग्रेसको प्रेरणास्रोत रही आएको उल्लेख गर्दै अहिले काँग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको बताएका छन् । अल्पसङ्ख्यक समुदायको अनुपम सम्मिश्रणबाट बनेको हाम्रो विविधताबीचको एकता र सामाजिक सद्भावपूर्ण नेपाली संस्कृतिलाई परम्परालाई अक्षुण्य राख्दै जलसम्पदा, प्राकृतिक स्रोत र गतिशील जनशक्तिको अधिकतम उपयोग गरी गरिबी, अशिक्षा, बेरोजगारी हटाउन काँग्रेस निरन्तररुपमा लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा महामन्त्री कोइरालाले नवनिर्वाचित सभापति र कोषाध्यक्षलाई बधाई ज्ञापन गरेका छन् । काँग्रेस आस्थाका धरोहर सस्थापक नायक विपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका साथै नेता रामनारायण मिश्र, महेन्द्रनारायण निधि, रामकृष्ण थारु, सुशील कोइरालालगायतले देखाएको बाटोमा अहोरात्र समर्पित र क्रियाशील रहने प्रतिज्ञा उनले बिज्ञप्तिमा जनाएका छन् । रासस
No comments:
Post a Comment