top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न दुइ देशले नीति बनाउने



५ चैत । नेपाल–भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मानवता विरोधी कार्य नियन्त्रणका लागि स्थानीय तहबाट गरिने छलफल र प्रयाससम्बन्धी नीति तयार गर्न दुई देशका स्थानीय प्रशासनबीच सहमति भएको छ ।

भारतको विहार राज्यको मधुबन्नी जिल्लाको जयनगरमा बिहीबार अबेर राति भएको सीमा बैठकमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी र भारतको मधुबन्नी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकाय सम्बध अधिकारीको बैठकले स्थानीय निर्वाचनका बेला ४८ घन्टाका लागि सीमा बन्द गरी उच्च सतर्कता अपनाइने निर्णय भएको हो ।

बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय प्रहरी तथा प्रशासनबीच निरन्तर संवाद र सञ्चारसम्पर्क स्थापित गरेर त्यस्ता आपराधिक कार्य रोक्ने सहमति भएको छ ।

बैठकमा सहभागी हुनुभएका महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार आगामी अप्रिल २४ देखि सुरु हुने विहार ग्राम पञ्चायतको निर्वाचनमा अवाञ्छित कार्य हुन नदिन सीमा बन्द गर्ने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी, सीमा क्षेत्रमा देखिने शङ्कास्पद अवस्थाका मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र आपराधिक कार्यमा संलग्न भएको पुष्टि भए कारबाही चलाउन पनि सहमति भएको प्रजिअ यादवले बताउनुभयो ।

सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह तथा कुनै पनि आपराधिक कार्य गर्ने जो कोही भए पनि त्यस्ता मानिसप्रति दुवै देशको स्थानीय प्रशासनले निरन्तर सम्पर्क स्थापित गरेर अपराधलाई रोक्ने प्रयास गर्ने पनि सहमति भएको उहाँले बताउनुभयो ।



No comments:

Post a Comment