चैत्र २ | अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित तीन प्रतिस्पर्धी विधामा डाइङ क्यान्डल नोमिनेसनमा परेको हो ।
डा. नरेश कुमार केसी निर्देशित यस फिल्म उत्कृष्ट फिल्मसहित सिर्जना सुब्बा उत्कृष्ट हिरोइन, दिपांकर सिग्देर र रविन आचार्य उत्कृष्ट छायाँकारमा मनोनित भएका हुन् । फेस्टिभल मार्च १५ देखि २० सम्म अमेरिकाको न्यूर्योकामा हुँदैछ । ‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिन हुने फेस्टिभलको अफिसियल वेवसाइटमा उल्लेख गरिएको छ ।
'स्क्रिनिङ सहित मनोनयनमा परेको खबरले खुशी भएका छौं,' निर्देशक केसीले उत्साही हुँदै भने, 'पुरस्कार जित्यौं भने त अन्तर्राष्ट्रिय बजारमा फिल्मको डिमान्ड बढ्नेछ ।' फिल्मले दिदीभाईबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको छ ।
उसो त यसभन्दा अगाडी पनि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । उक्त फेस्टिभबाट पाएको सकारात्मक प्रतिक्रियाले आफ्नो हौसला बढाएको केसीले बताए । ३ मार्चमा यस फिल्म युनिभरसिटी अफ साउर्दन क्यालिफोर्निया (युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो ।
यो कलेज विश्वकै पहिलो नम्बरमा रहेको फिल्म कलेज हो । अनि निर्देशक केसीले यही कलेजबाट फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नात्तकोत्तर गरेका हुन् । युएसस्सी पढ्ने उनी पहिलो नेपाली पनि हुन् । युएसस्सीमा त्यहा“ अध्ययनरत विद्यार्थीहरु सहित प्राध्यापक जेनिफर वारेन, अमान्डा पप, स्पँइडर म्यानबाट भिएफएक्समा ओस्कार जितेका डाक्टर पउल डिभेबेकलगाएतका विश्व विख्यात फिल्मकर्मीले ‘डाइङ क्यान्डल’ हेरेपश्चात कथावस्तु र प्रस्तुती शैलीको प्रसंशा गरेका थिए । स्क्रिनिङमा नेपालबाट अभिनेता अर्पण थापा तथा निर्माताद्वय रविन आचार्य र उत्तम केसी सहभागी थिए ।
No comments:
Post a Comment