३ फागुन – काभ्रेपलाञ्चोक सिमथली-५ कि विनिता बास्कोटाले गएको माघ २८ गते काभ्रेकै विष्णु भण्डारीसँग प्रेम विवाह गरिन्।
आफ्नै मनले खाएको व्यक्तिसँग विवाह गरेर जीवनभर सँगै बस्ने चाहना भएपनि तीन दिनमै श्रीमान् चोरी अभियोगमा थुनिएपछि विनिताले हनिमुन पनि राम्रोसँग मनाउन पाइनन्। मोटरसाइकल चोरेको अभियोगमा फागुन १ गते विष्णु पक्राउ परेर धुलिखेलमा थुनिए। विष्णुलाई छुटाउन दुई लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने वकिलले बताएपछि उनी त्यसको जोहो गर्न लागिन्। सामान्य जागिर गर्दै आएकी विनितासँग त्यति ठूलो रकम हुने कुरै थिएन, परिवारसँग मागौं भने उनीहरुकै इच्छाविपरीत भर्खर विवाह भएको छ। त्यसपछि उनले देवर नाता पर्ने भीमसेन भण्डारीसँग मिलेर कुनै बच्चाको अपहरण गरेर परिवारसँग पाँच लाख फिरौती लिने योजना बनाइन्।
विनिता र भीमसेनले कुन बच्चालाई अपहरण गर्ने भन्नेबारे योजना बनाउन थाले। त्यसका लागि उनीहरु इटहरीसम्म पुगेको अनुसन्धानबाट खुलेको बताउनुहुन्छ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारी। कम उमेरकालाई अपहरण गरे रुने कराउने भएकाले फुलाउन नसकिने ठूलालाई अपहरण गरे नियन्त्रणमा लिन नसकिने निष्कर्षसहित उनीहरु ठिक्क उमेर र चिनजानकै बच्चालाई अपहरण गर्ने निचोडमा पुगे।
फुलाउन सकिने, भनेको मान्ने बालिकाको सूचीमा परिन आफ्नै साहुकी ८ वर्षे कान्छी छोरी सम्झना पाण्डे। ललितपुरको च्यासलमा सम्झनाका बुबा बलराम पाण्डेले सञ्चालन गरेको कोल्ड स्टोरमा विनिता १४ महिनादेखि काम गर्दै आएकी थिइन्। आफ्नै स्टाफ भएकाले विनितालाई आफूहरुले परिवारको सदस्य जस्तै मान्ने गरेको बलराम बताउनुनुन्छ। भित्री मनसाय अर्कै बनाइसकेकी विनिताले चैत १ गते बेलुका ६ बजेतिर सम्झनाकी दिदी र दाईलाईसमेत बोलाएर लुकामारी खेल्न थालिन्।
खेल्दाखेल्दै दाइ र दिदीलाई लुक्न लगाई सम्झनालाई हिँडाएर उनले बालकुमारी पुलसम्म भीमसेनलाई भेट्न जाँउ भन्दै लगिन। भीमसेनलाई सम्झनाको जिम्मा लगाएर विनिता फेरि खेल्दै गरेको ठाउँमा पुगेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीको भनाई छ। भीमसेनलाई चिनेको हुँदा खुशी साथ सम्झना बस चढेर उसले भनेको ठाउँ महाराजगञ्जको गेष्ट हाउससम्म पुगिन।
भीमसेनले उनलाई त्यो रात त्यही राखेर भोलिपल्ट चैत २ गते गोपीकृष्ण हलमा ल्याएर दिउँसो र साँझको फिल्म हेराए। फिल्म हेरेपछि विनिता दिदीलाई भेट्न जाउँ भन्दै भीमसेनले चाबहिलको पूर्वेली गेष्ट हाउसमा सम्झनालाई ल्याए र त्यही गेष्ट आउसको ३०२ नम्बरको कोठामा तीनै जना त्यही रात बिताउने तयारी गरे। तर, अनुसन्धानको घेरामा परिसकेका विनिता र भीमसेनलाई राति ८ बजे प्रहरीले पक्र्यो। अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा मंगलबार उनीहरुलाई जिल्ला अदालत ललिपुरमा हाजिर गराइएको छ।
ड्रिम्स र फूलैफूलको मौसम तिमीलाई भन्ने फिल्म देखाए
गोपीकृष्ण हलमा ल्याएर भीमसेनले बालिकालाई ड्रिम्स र फूलैफूलकौ मौसम तिमीलाई भन्ने दुई वटा फिल्म देखाएको खुलेको छ। ललितपुर प्रहरी परिसरमा बुबासँगै आएकी सम्झनाले आफूलाई ड्रिम्स र फूलैफूलको मौसम भन्ने फिल्म देखाएको बताइन्।
तिमीले स्कुल जान्छु भनिनौं भन्ने प्रश्नमा सम्झनाले निन्याउरो अनुहार पार्दै भनिन्, ‘भने नि तर, उनीहरुले दुई दिन स्कुल बिदा छ भने।’(उज्यालो अनलाइनबाट)
No comments:
Post a Comment