top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

अवैध इन्धन बरामद


३ चैत । अवैधरुपमा इन्धन कारोबार नियन्त्रण अभियान सुरु गरेको यहाँको प्रहरीले गए राति दुई हजार ४०० लिटर इन्धनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । 

वडा प्रहरी कार्यालय नारायणगढले भरतपुर नगरपालिका–४ कमलनगरस्थित एक कवाडी पसलबाट दुई हजार १०० लिटर डिजेल, ३०० लिटर पेट्रोलसहित रु ५२ हजार नगद नियन्त्रणमा लिएको हो । 

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार कारोबारमा संलग्न भएको अभियोगमा कवाड पसलका सञ्चालक स्थानीय ३० वर्षीय टङ्क थापा र उनका सहयोगी भरतपुर उपमहानगरपालिका–२१ बस्ने सुरज बोहोरा र कविलास गाविस–२ बस्ने सुमन विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ । 

गए राति १० बजेको समयमा अवैधरुपमा इन्धन ल्याएर भण्डारण गरी बिक्री गरेको सुराक पाएपछि प्रहरी निरीक्षक थापाको नेतृत्वमा गएको टोलीले ना१क ३१०४ नम्बरको ट्रकमा र पसलभित्र रहेको इन्धन ट्रकसहित नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला र मातहतका निकायले अवैधरुपमा ल्याएका र भण्डारण गरेका इन्धन जफत गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्ला प्रहरीले यसअघि पटकपटक अवैध इन्धन बरामद गरेको थियो । 

पर्साको ठोरी हुँदै चितवनको माडीको बाटो प्रयोग गरेर नाकाबन्दीको समयमा दैनिक एक लाख ५० हजार लिटर इन्धन भित्रिँदै आएको चितवनमा नाकाबन्दी खुलेपछि पनि इन्धन भने सहज हुन सकेको छैन । स्थानीय प्रशासनले ठोरीको बाटो पूर्ण नियन्त्रणमा लिए पनि जिल्लामा इन्धनको कालोबजारी भईरहेको छ । रासस 

No comments:

Post a Comment