३ चैत । “म बाँचे भने काखको बच्चा पनि बाँच्न सक्छ”, अस्पतालको श्ययाबाट एक महिला भन्छिन्, “मेरो बच्चालाई बचाउन, मलाई बचाउनुस् ।”
लामो समयदेखि क्यान्सरबाट पीडित बनेकी खोटाङ खार्मी–८ की कविता तामाङले आफ्नो उपचारका लागि सहयोगको याचना गर्दै आउनुभएको छ । उपचार गर्ने क्रममा करिब रु सात लाख सकिएको तथा थप उपचारका लागि रु २० लाख रकम आवश्यक गर्ने भएपछि तामाङले अस्पतालको श्ययाबाटै उपचारका लागि सहयोगको याचना गर्नुभएको हो ।
काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका तामाङ परिवार कविताको उपचारकै क्रममा ऋणमा डुबेका छन् । निम्न आर्थिकस्तरका तामाङ परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गराइरहेको श्रीमान् अशोक तामाङले बताउनुभयो । काखमा चार महिनाको छोरो च्यापेर १८ वर्षीया तामाङले गत जेठदेखि ब्लड क्यान्सरको उपचार गराइरहनुभएको छ । कविता क्यान्सरले जीवनमरणको अवस्थामा थलिएपछि दूधेबच्चाको लालनपालनमा समेत समस्या भइरहेको छ ।
उहाँहरुले सहयोग गर्न चाहने महानुभावलाई कविता तामाङको नाममा रहेको सनराइज बैकको खाता नं ०४२१०३११८७३०१५ र अशोक तामाङको नाममा रहेको सेन्चुरी बैकको खाता नं ०१५५०१५०००१३५६ मा सहयोग रकम जम्मा गरिदिन पनि अनुरोध गर्नु भएको छ ।
हाल ललितपुरको भैँसेपाटीमा बसिरहेकी तामाङलाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको थियो । उहाँले आफ्नो र बच्चाको जीवनरक्षाका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । रोजगारीका सिलसिलामा साउदीअरबबाट छुट्टीमा आएका अशोक श्रीमतीको उपचारका क्रममा साउदी जानबाट वञ्चित बनेका छन् । वैदेशिक रोजगारीको माध्यमबाट घरपरिवार धान्दै आएका तामाङलाई श्रीमती बिरामी भएपछि समस्या भएको छ । रासस
No comments:
Post a Comment