८ चैत । म्याग्दी जिल्लाको सिङ्गाका कृषकले दूध बेचेर गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्र्याउने गरेका छन् ।
बेनी नगरपालिका– १३ र १४ मा पर्ने सिङ्गाका कृषकले दूधबाट पछिल्लो एक वर्षको अवधिमा रु पैँतालीस लाख भित्र्याएका हुन् । सिङ्गामा रहेको जनभावना दुग्ध सहकारी संस्थामा आबद्ध कृषकले दैनिक २५० लिटरका दरले दूध बिक्री गर्दै आएका छन् ।
कृषकबाट दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा निकासी गर्दै आएको सो संस्थाले २०७१ चैतदेखि २०७२ साल फागुनसम्म ९१ हजार २५० लिटर दूध बिक्री गरेका छन् ।
कृषकबाट प्रतिलिटर रु ५० देखि रु ५३ का दरले दूध खरिद गर्दै आएको संस्थाले यही चैत महिनादेखि प्रतिलिटर रु पाँच मूल्य बढाएको अध्यक्ष कोपीलाल पौडेलले जानकारी दिनुभयो ।
उक्त संस्थामा आबद्ध ३३ जना कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिहान र बेलुकी सदरमुकाम बेनीका डेरीमा लगेर बिक्री गर्ने व्यवस्था मिलाइएको छ । एकजना कृषकले दैनिक ३० लिटरसम्म दूध बेच्ने गरेका छन् । दूध बेचेर एकजना कृषकले मासिक रु ७५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
सहकारीले चार वर्षदेखि दूध सङ्कलन केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलन केन्द्र स्थापना भएपछि दूध बेच्नका लागि दैनिक दुई घन्टा हिँडेर बेनी पुग्ने कृषकको समयको बचत भएको छ ।
दूध बेचेर भएको आम्दानी कृषकले सहकारीमा बचत गर्छन् । गाउँमै उचित मूल्यमा दूध बेच्न पाउँदा कृषक व्यावसायिक गाईभँैसीपालनतर्फ आकर्षित भएको स्थानीय कृषक रमेश केसीको भनाइ छ ।
दुग्ध सङ्कलन केन्द्र सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यालयले संस्थालाई उपकरण सहयोग गरेको बताइएको छ । रासस
No comments:
Post a Comment