top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

किन लोप हुदै छ चैते धान ?


चैत ८  । जिल्लाको दोस्रो मुख्य बाली मानिने धान बालीअन्तर्गत पर्ने चैतेधान लोप हुदै गएको छ । पर्याप्त सिँचाइ सुविधा नहुनु, कामदारका अभावका कारण चैतेधान जिल्लाबाट हराउँदै गएको हो । 

जिल्लाको मुख्य अन्न भण्डारका रुपमा लिइने माडी फाँटमा ९७ प्रतिशत कृषकले अहिले चैतेधान खेती गर्न छाडेका छन् । सिँचाइको असुविधाले माडीफाँटमा चैतेधान खेती गर्न छाडेको कृषक बताउँछन् । 


सिँचाइको सुविधा भएको पूर्वखोला फाँटमा विगतका तुलनामा ५० प्रतिशत कृषकले मात्र चैतधान खेतीलाई निरन्तरता दिएको अगुवा कृषक सीता आचार्य बताउनुहुन्छ । 


असारमा तयार हुने धान भए पनि एउटा स्याहार्ने बेला अर्को छर्ने समय भएका कारण कृषकले क्रमिक रुपमा लगाउन छाड्दै गएका उहाँको भनाइ छ । 

मदनपोखराका कृषक वुद्धराज बस्याल भन्नुहुन्छ, “पहिला १० रोपनी क्षेत्रफलमा दुई बाली धान हुन्थ्यो, खेतमा सिँचाइ गर्न समस्या भएपछि चैतेधान लगाउनै छाडियो ।” सिँचाइको समस्यासंगै रोप्ने मानिस पाइन छाडेपछि धेरैजसो कृषकले चैतेधान खेती गर्न छोडेका उहाँको भनाइ छ । 

असारमा लगाएको धानको तुलनामा चैतमा लगाएको धानको चामल बढी पर्ने गरेको कसेनीका कृषक तिलकराम घिमिरे बताउनुहुन्छ ।

चैतेधान चिउराको प्रयोजनका लागि राम्रो मानिन्छ । कृषक जुद्धबहादुर कुमाल भन्नुहुन्छ, “उत्पादन राम्रो हुने भए पनि पछिल्लो समय गाउँगाउँका युवा खाडी मुलुक पुगेका छन्, खेती गर्नभन्दा बजारमा किनेर खाने प्रवृत्ति बढेकाले चैतेधान हराउँदै गएको हो ।” 

पूर्वखोलाका सन्तोष खनाल बर्सेनि चैतेधान लगाएर परम्परा धान्दै आउनुभएको छ । उहाँले यस वर्ष पनि सात रोपनी क्षेत्रफलमा धान लगाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा धेरै कृषकले चैतेधान लगाउन छाडे, आफूले परम्परा धान्नका लागि लगाउँदै आएको छु ।” 

बर्खे धानभन्दा बढी मिहेनत गर्नुपर्ने अर्कोतर्फ यसको ब्याड तयार गर्न सजिलो नहुने, बर्खे धानको ब्याडको तुलनामा चैते धानको ब्याड उतार्न अत्यन्त कठिन, मौसम, तापक्रम राम्रो नभए बीउ नउम्रने जस्ता समस्याले धेरैले चैतेधानको खेती गर्न छाडेको कृषक कमल खनालको भनाइ छ । 

रामपुर फाँटमा सिँचाइको सुविधा भए पनि धान लगाउने जमिन दिनानुदिन घट्दै गएको छ । यस क्षेत्रका दुईचारजना कृषकले मात्र चैतेधान खेती गर्छन् । एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइँदै आएकामा हाल ५० रोपनीमा पनि मुस्किलले धान लगाइएको कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । 

“युवा जति विदेशमा, युवती सहर केन्द्रित, गाउँघरमा बूढाबूढी मात्रै छन्, दुःखसुुखले बर्खे धान खेती गरे पनि चैतेधान धेरैले लगाउन छाडिसकेका छन्”, अर्यालले भन्नुभयो ।

यहाँको अर्गली फाँटमा भने चैते धानलाई कृषकले निरन्तरता दिएका छन् । सिँचाइका लागि भरपर्दो माध्यम नै नभएको कारण बर्खे धानलाई समेत सिँचाइ सुविधा पु¥याउन निकै कठिन भएको कृषकहरु बताउँछन् । 

जिल्लामा हाल ८१५ हेक्टर क्षेत्रफलमा स्थानीय चैते २, चैते ३ जातको धान लगाइएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिनुभयो । सिँचाइ कामदारको समस्याले खेती गरिने क्षेत्रफल पनि कम हुँदै गएको छ । रासस 

No comments:

Post a Comment