top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

संरक्षणको अभाव झेल्दै बाटुलेचौर मन्दिर !


चैत ७  । पर्वतको ठूलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौरमा रहेका शिव तथा देवी मन्दिर संरक्षणको अभावमा सङ्कटमा परेका छन् । स्थानीयवासी तथा स्थानीय निकाय र प्रशासनले चासो नदिँदा पुरातात्विक महत्वका विभिन्न सामान र मूर्तिसमेत हराएका छन् ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ ।

भृगु ऋषिको तपस्यास्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् । संरक्षण अभावमा मन्दिरका विभिन्न पुरातात्विक सामानसमेत विभिन्न समयमा हराइसकेका मन्दिरका पुजारी दुर्गादत्त सुवेदी बताउनुहुन्छ ।

विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरेको देवी तथा शिवालय मन्दिरका पुराना मूर्तिसमेत हराएको पुजारी सुवेदीले बताउनुभयो । मन्दिर वरिपरि रहेको समुदायले समेत मन्दिर संरक्षणमा चासो नदिएका कारण समस्या हुने गरेको उहाँको भनाइ छ । मन्दिरमा हाल रहेका संरचना पनि विभिन्न समयमा तोडफोड हुने गरेको भए पनि स्थानीय प्रशासनले चासो देखाएको छैन ।

मन्दिरको पुनःनिर्माण गर्न आवश्यक भए पनि कहीँ कतैबाट सहयोग हुन नसक्दा समस्या भएको स्थानीय नीलकण्ठ शर्माले बताउनुभयो ।

ऐतिहासिक ठाउँको संरक्षणमा जिल्ला विकास समिति र स्थानीय गाविसले समेत चासो दिएको छैन ।

निर्माणको मात्रै होइन मन्दिरमा तोडफोड र चोरी हुँदासमेत कसैले वास्ता नगर्ने गरेको स्थानीयवासी हरिप्रसाद लामिछाने बताउनुहुन्छ । मन्दिरमा पटक पटक गाउँमै रहेको प्रहरी चौकीले समेत तोडफोड गर्दा कारबाही नगरेको उहाँको भनाइ छ ।

गत वर्ष दान पेटिकामा भएको रकमसमेत चोरी भएको र चोरी गर्ने व्यक्तिसमेत पहिचान हुँदा पनि स्थानीय ठूलीपोखरी प्रहरी चौकीले दोषीलाई कारबाही नगर्दा चोरहरूको मनोबल झनै बढेको उहाँको भनाइ छ ।

यस ठाउँमा खनजोत गर्दा कालो कोइला, पैसा तथा पुराना भाँडाकुँडासमेत भेटिने गरेको स्थानीयवासीको भनाइ छ । अग्लो स्थानमा रहेको बाटुलेचौरबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाका साथै पर्वत, बागलुङ तथा स्याङ्जाका विभिन्न भाग तथा सदरमुकामसमेत देखिने भएकाले पर्यटकीय सम्भावनासमेत बोकेको छ । रासस

No comments:

Post a Comment