५ चैत । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ अनन्तलिङ्गेश्वर नगरपालिकाका दधिकोटका कृषक रमेश खड्का, नगरकोट नगरपालिका ताथलीका भानुभक्त पराजुली र नगरकोटका धर्मराज थिङलाई प्रदान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
सो अवसरमा उहाँले कृषिमा देशलाई आत्मानिर्भर बनाउन सके जस्तोसुकै समस्यासँग सामना गर्न सकिने बताउनुभयो ।
आजै उहाँले सूर्यविनायकमा आजदेखि सञ्चालनमा आएको रासायनिक विषादीरहित उत्पादन एवम् बिक्री केन्द्रको उद्घाटनसमेत गर्नुभयो ।
केन्द्रलाई हाल मासिक रु पाँच हजार जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्ने र आगामी दिनमा यसलाई जिल्लाकै नमुना र ठूलो रासायनिक विषादीरहित उत्पादन एवम् बिक्री केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको कार्यालयका प्रमुख पूर्णा ढुङ्गानाले बताउनुभयो ।
No comments:
Post a Comment