काठमाडौं, ३० फागुन । इन्डियन आयल कर्पोरेसनले रक्सौल अमलेखगन्ज ४१ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्र पठाएको छ ।आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साताअघि आइओसीले पाइपलाइन परियोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिएका छन् ।
आइओसीले आफ्नोपट्टि सबै तयारी सकेको जानकारी गराएको छ । ‘नेपालकोतर्फबाट के तयारी भइरहेको छ भन्ने जानकारी पनि मागेको छ,’ सुवेदीले भने, ‘पाइपलाइका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिरहेको छ ।’
पाइपलाइन निर्माणबारे ७ भदौमा नेपालका तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतकोतर्फबाट पेट्रोलियम राज्यमन्त्री धर्मेन्द्र प्रधानले सम्झौता गरेका थिए । पाइपलाइन आइओसीले आफ्नै खार्चमा निर्माण गरिदिने सम्झौता छ । सम्झौतालगत्तै निर्माण गरिने भनिएको भएपनि भारतले गरेको नाकाबन्दीका कारण पाइपलाइन निर्माण कार्य रोकिएको थियो ।
नेपालतर्फ ३९ किलोमिटर र भारततर्फ २ किलोमिटर बिछ्याइने पाइपलाइनको व्यास १० इन्चको हुनेछ । रक्सौलबाट तेल खसालेपछि बढीमा ४५ मिनेटमा अमलेखगञ्जमा झर्ने आइओसीको प्रक्षेपण रहेको छ । एक घन्टा दुई लाख लिटर तेल ओसार्न सकिने पाइपलाइनबाट सुरुमा दैनिक ३० लाख लिटर ओसार्न सकिने आइओसीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
No comments:
Post a Comment