top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

श्रीमान् गुमाएकी दीपा सहयोग पाउदा दङ्ग !


४ चैत । गत मङ्सिरमा रुखबाट लड्दा तीन ठाउँमा ढाड भाँचिएर काठमाडौँको वीर अस्पतालमा उपचाररत दीपा बस्नेतलाई रु ९० हजार सहयोग प्राप्त भएको छ । उनको उपचारका लागि तीन महिना काठमाडौँमा बसी खर्चको जोहो गर्न गाउँ आउँदै गर्दा गत फागुन १० गते ट्रक दुर्घटनामा परी श्रीमान्को ज्यान गएपछि दीपा थप समस्यामा परेकी थिइन् । 

कमाउन विदेश गएका श्रीमान् आफ्नो उपचारका लागि फर्कंदा ऋण लागेको, आफ्नो उपचारमा समेत ऋण लागेको र उपचारका लागि थप रकम चाहिएको र अहिले दुर्घटनामा श्रीमान्को ज्यान गएकाले दीपा विक्षिप्त बनिन् । 

चरम पीडामा रहेकी दीपालाई सहयोग गर्न काठमाडौँमा बस्दै आएकी काँगेल सोलुखुम्बु निवासी डा रेनुका बस्नेतको सक्रियतामा विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको रु ९० हजार रकम बुधबार उनको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली जम्मा गरिएको डा रेनुकाले जानकारी दिनुभयो । 

अहिले वैशाखीको सहारामा उठ्नसम्म सक्ने भएकी दीपाको काँधमा बूढी सासूको पालनपोषण र ११ वर्षीय छोराको पालनपोषण तथा शिक्षादीक्षाको जिम्मेवारी रहेको छ । 

रु ९० हजार सहयोग पाएपछि खुसी हुँदै दीपाले भन्नुभयो – “कसरी बाँच्ने केही सोच्नै नसकेका बेला पाएको रु ९० हजारले बाँच्ने आँट बढेको छ, अझै उपचारका लागि धेरै पैसा लाग्छ, थप सहयोग पाए सन्चो भएर बूढी सासू पाल्ने थिएँ, अनि छोरालाई पढाउने थिएँ ।” 

दीपाको दुःख सहन नसकेर विभिन्न व्यक्तिको सहयोगमा रकम जम्मा गरेको र अभियान अझै जारी रहेको डा रेनुकाले बताउनुभयो । उहाँले सहयोग गर्न इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकमा दीपाको नाममा रहेको बैंक खाता नं १६९०००७९१६१० मा रकम जम्मा गर्न अथवा ९८५११३५३०९ मा सम्पर्क गर्न सकिने बताउनुभयो । रासस 

No comments:

Post a Comment