संसारमा वर्षेनी १ करोड ४० लाख व्यक्ति क्यान्सर रोगबाट पीडित हुने गरेको अनुमान छ । यही रोगवाट बर्षेनी करिव ८० लाख जतिको मृत्यु हुने गरेको छ । यही हिसाबले सन् २०३० सम्ममा वर्षेनी करिव २ करोड ३० लाख जतिलाई यो रोग लाग्ने र १ करोड २० लाख व्यक्तिको सोही वर्ष नै मृत्यु हुने अनुमान विश्व स्वास्थ्य संगठनको छ । अझ सवैभन्दा दुःखलाग्दो कुरा त के छ भने यो रोगको ३ चौथाई मार हाम्रो जस्तो गरिव र विकासशील राष्ट्रमा हुने गरेको छ ।
नेपालको क्यान्सर र यससम्वन्धी खासै तथ्यांक नभएपनि बर्षेनी करिव ५० हजार जनालाई यो रोग लाग्ने अनुमान गरिएको छ । एक अनुमान अनुसार नेपालमा बिभिन्न कारणले ८० प्रतिशतभन्दा बढी रोगीले रोग पत्ता लागेको एक वर्षभित्रै ज्यान गुमाउँछन् । हाम्रो देशमा पाठेघर, मुख, फोक्सो, पाचन प्रणाली, महिलाको स्तन, रगत, ग्लाण्ड, प्रोष्टेट ग्रन्थी, हड्डी आदिको क्यान्सर बढी मात्रामा देखिने गरेका छन् । ७५ प्रतिशतभन्दा वढी क्यान्सर ५५ वर्ष या त्यसभन्दा माथिको उमेरमा लाग्ने गरेको देखिन्छ ।
के हो क्यान्सर ?
क्यान्सर के हो भन्ने कुराको परिभाषा दिन पनि गाह्रो छ । यसले समातेपछि मुक्ति पाउन गाह्रो हुने भएकोले यो रोगलाई गँगटोको संज्ञा पनि दिइन्छ । प्राकृतिक नियमअनुसार हाम्रो शरीरमा रहेका अरबौं संख्याका कोषिकाहरु बन्ने र विग्रने क्रम चलिरहेको हुन्छ । यसैक्रममा विभिन्न प्रकारका वस्तु र वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ । यसले गर्दा अर्कै प्रकारका कोषिकाहरु बन्ने क्रम शुरु हुन्छ । यो रोगले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ । तर, मानव शरीरबाट आफूलाई चाहिने सवै तत्वहरु भने लिँदै जान्छ । छोटकरीमा भन्नुपर्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर वढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ ।
क्यान्सरका कारण
क्यान्सर कसरी र के कारणले हुन्छ भन्ने यकिन गर्न सकिँदैन तैपनि ५० प्रतिशत जति क्यान्सर हामीले खाने बानीका आधारमा लाग्छ । यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, रक्सी, बियर, आदिको प्रयोगले हुन सक्छ । चुरोटले मात्र पनि करीव ३५ प्रतिशत क्यान्सर हुने गर्छ । अरु बाँकी कारणमा एचआईभी÷एड्स, हेपाटाइटिस बी, एचपीभी भाइरस, एच.पाइलोरी आदि रहेका छन् । अरु जस्तै विकीरण क्षेत्रमा काम गर्ने, रंगाउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरका कारक तत्व मानिन्छन् ।
क्यान्सरका लक्षण
लामो अध्ययनपछि अमेरिकी क्यान्सर सोसाइटीले ७ वटा लक्षण प्रकाशित गरेको छ । यीमध्ये कुनै पनि लक्षण देखापरेमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।
१. निको नहुने खोकी वा स्वर धोक्रो भएमा
२. स्तन या अरु ठाउँमा नदुख्ने गिर्खा आएमा
३. कोठीको आकार बढेर ठुलो हुँदै गएमा
४. निको नहुने घाउ भएमा
५. अत्याधिक रक्तस्राव या पीप आएमा
६. दिशा वा पिसावको तालिका फेरिएमा
७. अपच वा निल्न गाह्रो भएमा
उपचार र रोकथाम
क्यान्सरलाई प्रायः ३ प्रकारले उपचार गरिन्छ । क. शल्यक्रिया ख. रेडियोथेरापी (विकीरणद्वारा) ग. केमोथेरापी अर्थात् औषधि प्रयोग गरेर रोग अनुसार हर्मोन र बायोलोजिकल प्रडक्ट अनुसार उपचार गर्न सकिन्छ ।
रोगको औषधि गर्नुभन्दा रोग लाग्नै नदिनु तथा यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ । कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ । क्यान्सर धनी, शिक्षित, गरीब जुनसुकै समाज र राष्ट्रमा जो सुकैलाइृ जुनसुकै बेला लाग्नसक्छ । त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बँच्न तथा टाढा रहन सकिन्छ ।(स्वास्थ्य खबर )
No comments:
Post a Comment