top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

यसकारण छैन सञ्चार क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता

५ चैत । अहिले पनि नेपाली सञ्चार क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता हुन नसकेको एक प्रतिवेदनले बताएको छ ।

ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को सन् २०१५ को अध्ययन प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो ।

जिएमएमपीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मिडियामा महिलाको कमजोर प्रतिनिधित्व हुनुमा यथास्थितिलाई निरन्तरता दिनुरहेको छ ।

जिएमएमपी २०१५ को नेपालका लागि संयोजनकारी संस्था अस्मिता महिला प्रकाशन गृहले गत फागुन २५ गते यस प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदन गत वर्षको मार्च २५ तारिखका दिन काठमाडौँ उपत्यकाको निम्न सञ्चार संस्थाहरुले गरेको बताइएको छ ।

नेपालका लागि जिएमएपी राष्ट्रिय संयोजन नेपालका मञ्जु थापाका अनुसार कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, राजधानी, गोरखापत्र, द राइजिङ नेपाल, रिपब्लिका, द काठमाडौँ पोष्ट, द हिमालय टाइम्स दैनिक पत्रिकामा अध्ययन गरिएको हो ।

त्यसैगरी प्रसारण माध्ययमअन्तर्गत कान्तिपुर, नेपाल टेलिभिजन, एबिसी र सगरमाथा टेलिभिजन तथा रेडियोतर्फ रेडियो नेपाल, सिआइयान उज्यालो एफएम र क्यापिटल एफएमको समाचार बुलेटिनको अध्ययन गरिएको हो थियो ।

 त्यस्तै अनलाइनअन्तर्गत रातोपाटी, सेतोपाटी र अनलाइन खबरमा गरिएको अध्ययनले सो कुरा प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार ती सञ्चारमाध्यममा समाचारदाता, सम्पादक समाचार वाचिका, समाचारमा प्रयोग भएका महिला सङ्ख्या र नामसहितको समाचार लेख्ने महिलाका बारेमा अध्ययन गरिएको हो ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेको महिलाले सञ्चारमाध्यममा १३ प्रतिशत मात्र स्थान ओगटेको उल्लेख छ । समाचारको स्रोतका रुपमा महिला सबैभन्दा धेरै अन्तर्राष्ट्रिय समाचारमा १६ प्रतिशत र सबैभन्दा कम क्षेत्रीय समाचार तीन प्रतिशतमात्र सहभागी रहेको बताइएको छ ।

पत्रपत्रिका, रेडियो र टेलिभिजनमा बाइलाइन रिपोर्टिङ र न्यूजकास्टमा कुल समाचारमा २३ प्रतिशत महिला र ७७ प्रतिशत पुरुष संवाददाताले सम्प्रेषण गरेका छन् । त्यसमध्ये पत्रपत्रिकामा २१ प्रतिशत, रेडियोमा ३३ प्रतिशत र टेलिभिजनमा २२ प्रतिशत समाचार महिला संवाददाताले सम्प्रेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१० को जिएमएमपीमा ‘बाइलाइन’ समाचार सम्प्रेषण गर्ने महिला संवाददाताको सङ्ख्या शून्य थियो । यस अर्थमा २०१५ मा भने केही प्रगति भएको छ ।

महिला संवाददाता र प्रस्तोता दुवैले सम्प्रेषण गरेका समग्र समाचारलाई खण्डीकृत गरेर हेर्दा टेलिभिजन समाचारमा मात्रै पुरुष संवाददाता र प्रस्तोताभन्दा महिलाको उपस्थिति धेरै ६५ प्रतिशत छ ।

पत्रपत्रिका, रेडियो र टेलिभिजनका कुल २७६ समाचारमध्ये महिलासँग सम्बन्धित केन्द्रीय विषय रहेका समाचार करिब चार प्रतिशत लैङ्गिक समानता र असमानताका सवाल उजागर गर्ने समाचार करिब १० प्रतिशतमात्र रहेको र लैङ्गिक हिसाबले परम्परागत ढाँचालाई बढावा दिने समाचार ७२ वटा रहेको बताइएको छ ।

समाचार माध्यममा लैङ्गिकतासम्बन्धी यस किसिमको पहिलो विश्व सर्वेक्षण सन् १९९५ मा भएको थियो जतिबेला ७१ वटा देशमा यो सर्वेक्षण गरिएको थियो । त्यसपछि प्रत्येक पाँच–पाँच वर्षमा यस किसिमको मिडिया–सर्वेक्षण हुँदै आइरहेको छ । रासस

No comments:

Post a Comment