४ चैत । जिल्लाका ग्रामीण भेगमा बसोबास गर्ने बालिकाको सानै उमेरमा विवाह गरीदिंदा बीचैमा पढाइ छाड्न बाध्य भएका छन् । चेतना र ज्ञानको कमीले कलिलो उमेरमा विवाह गर्दाको पीडा अहिले आएर उनीहरु खुलेरै व्यक्त गर्न थालेका छन् ।
ख्याहा गाविस जोगीथुमकी पार्वती कुमाल कक्षा ६ मा अध्ययन गर्दागर्दै गाउँकै युवकसँग विवाह गरेको दुई वर्षमा आमा बनेकी छिन । कलिलो उमेरमा विवाह गर्दा पढाइ पूरा गर्न नपाएको र उमेर नपुग्दै आमा बन्नुपर्दा शारीरिक तथा मानसिक रुपमा पीडा बढ्दै गएको अनुभव उनले सुनाइन ।
गरिबी, अशिक्षा र अज्ञानताले नराम्रोसँग गाँजेको ग्रामीण बस्तीका आदिवासी, जनजाति, दलित समुदायभित्र आफूखुसी विवाह गर्ने परम्पराका कारण बालविवाहले जरा गाडेको छ ।
कसेनी गाविस अगेनीकी तारा कुमालले सानै उमेरमा विवाह गरी घरजम गर्दा पढाइ लेखाइ सबै आफ्नो दिमागबाट उडिसकेको बताउछिन । उनि भन्छिन – “१७ वर्षको उमेरमा तीन सन्तानको आमा बन्दा शारीरिक रुपमा अत्यन्त कमजोर भएकी छु ।”
उनि जस्तै शारदा कुमाल पनि दिव्य ज्योति उच्च माविमा कक्षा ५ मा अध्ययन गर्दागर्दै विवाह गरिन । उनि भन्छिन – “ज्ञान र चेतनाको कमीले कलिलै उमेरमा विवाह गर्दा जीवनको सर्वश्व नै गुम्यो, पढाइ पूरा गर्न पनि सकिएन” – “सानो उमेरमा आमा बन्दा मृत्युको मुखबाट फुत्किएर अहिले नयाँ जीवन पाएकी छु” – उनले गुनासो पोखिन ।
फेक गाविसकी वसन्ती नेपालीले पनि एसएलसीको परीक्षा सक्नेबित्तिकै आफूखुसीले विवाह गरिन । विवाह गरेको एक वर्षपछि काखमा बच्चा भयो, त्यसपछि आफ्नो अध्ययन पूरा गर्न नपाउँदा खिन्न र निराश हुँदै सानो उमेरमा पढाइ पूरा नहुँदै विवाह गर्न नहुँदो रहेछ भन्ने पछुतो अहिले लागेको उनले बताईंन् ।
जिल्लाको पूर्वी पश्चिमी क्षेत्रका गाविसमा मगर, कुमाल, दलित, जनजाति समुदायमा उमेर पूरा नहुँदै आफूखुसी विवाह गर्ने परम्परा र प्रवृत्तिका कारण तल्लो कक्षामा नै पढाइ छाड्ने क्रम न्यूनीकरण हुन सकेको छैन ।
तानसेन नगरपालिकासँग सिमाना जोडिएको चिर्तुङधारा गाविसमा पनि शैक्षिक चेतना नपुगेका कारण अहिलेसम्म बालविवाह गर्ने परम्परा हट्न सकेको छैन । चिर्तुङधारा घोरबन्दाको कुमाल समुदायमा आफूखुसी विवाह गर्ने परम्पराका कारण बालविवाहको अन्त्य हुन नसकेको स्थानीयवासीको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र खस्यौलीका स्वास्थ्य प्राविधिक रामप्रित यादव भन्छन् – “सानो उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य अत्यन्त जोखिमपुर्ण हुन्छ, त्यसका विरुद्ध साझा अभियान सञ्चालन गरी अगाडि बढ्नुपर्ने हुन्छ ।”
रुप्से गाविसका बलबहादुर कुमाल छोरीले आफूखुसी विवाह गर्दाको पीडा सम्झदै भन्छन् – “विवाह गरेको एकवर्ष पूरा नहुँदै गर्भवती हुँदा बच्चा जन्माउन नसकेर अकालमै छोरीले ज्यान गुमाउनुपरेको पीडाले आफूलाई जीवनभर सताउने गरेको छ ।”
जलदेवी प्रावि मित्यालका प्रधानाध्यापक लालबहादुर सोतीले सानो उमेरमा विवाह गर्दा तल्लो तहमा नै पढाइ छाड्ने क्रम गाउँघरमा अहिलेसम्म पनि विद्यमान रहेको बताउछन् ।
सानो उमेरमा विवाह गर्नुहुँदैन भन्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालयबाट जारी गर्ने सार्वजनिक सन्देशमूलक सूचना स्थानीयवासी सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गरे पनि प्रभावकारी नभएका कारण बालविवाह न्यूनीकरण हुन नसकेको हो । रासस
No comments:
Post a Comment