top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

आक्रमणमा मृत्य हुनेको सङ्ख्या ३१ नाघ्यो १५० भन्दा बढी घाइते !


चैत्र १०। बेल्जियमको राजधानी ब्रसेल्सका दुई व्यस्त ठाउँमा मंगलबार आतंककारी आक्रमण भएको छ । सो आक्रमणमा ३४ जना मारिएका छन् भने १५० भन्दा बढी घाइते भएका छन् । घटना ब्रसेल्स एयरपोर्ट र मेट्रो रेल स्टेसनमा भएको हो । घटनापछि युरोपभर सुरक्षा बढाइएको छ भने बेल्जियम आउजाउका प्रमुख नाकाहरू बन्द गरिएका छन् ।

बेलायतबाट बेल्जियम आउने अन्डरग्राउन्ड रेलसेवा बन्द गरिएको छ । अन्य मुलुकसँगको हवाई सेवा तत्कालका लागि बन्द गरिएका छन् ।  प्रत्यक्षदर्शीका अनुसार विमानस्थल आक्रमणअघि अरबी भाषामा ठूलो स्वरमा आवाज आएको, गोली चलाइएको र दुई विष्फोट भएका थिए । दुई विष्फोटमध्ये एक जना आत्मघाती हमलाकारी भएको आशंका गरिएको छ ।

१ सय ३० जनाको ज्यान जाने गरी गएको नोभेम्बर महिनामा पेरिसमा शृंखलाबद्ध आक्रमणको योजनाकार मानिएका व्यक्ति सलेह अब्देसलामलाई ब्रसेल्समा चार दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

यस घटनालगत्तै बेल्जियाली प्रहरी, सशस्त्र दललाई आक्रमण क्षेत्रमा खटाइएको छ । ब्रसेल्समा सबै यातायातका साधन बन्द गरिएका छन् । सन् २००५ मा पनि लण्डन आक्रमण हुँदा यस्तै विधि अपनाइएको थियो । लण्डन आक्रमणमा ५२ जना सर्वसाधारण मारिएका थिए ।


घटनालगत्तै मोबाइल फोनको अत्यधिक प्रयोग नगर्न सरकारले आग्रह गरेको छ । टेलिफोन सेवा अवरुद्ध भई अन्य महत्वपूर्ण कार्यलाई असर पर्ने भएकाले कम मोबाइल प्रयोग गर्न आग्रह गरिएको हो । सरकारले जो जहाँ छन्, त्यहीँ प्रतीक्षा गर्न आग्रह गरेको बताएको छ । सुरक्षा अधिकारीले आक्रमण भएको ठाउँमा राइफल फेला पारेको बताएका  छन्  । यो राइफल इस्लामिक स्टेटले प्रयोग गर्ने गरेका छन् । बेल्जियम र फ्रान्स आक्रमणमा यही राइफल प्रयोग हुने गरेको देखिएको बताएका छन्  ।

एयरपोर्टमा अझै विष्फोट नभएका सामग्री हुन सक्ने आशंका गर्दै प्रहरीले खोजी कार्य जारी राखिरहेको छ । चेक इन डेस्कमा बम विष्फोट गराइएको एक प्रत्यक्षदर्शीले बताएका छन्  । घटनाको सूत्र फेला पार्न प्रहरीले ब्रसेल्स क्षेत्रका घरघरै खोजी कार्य  जारी राखेको छ । मेट्रो रेलमा २० जना र विमानस्थलमा १४ जना मारिएका हुन् । यसअघि अधिकारीहरूले एयरपोर्टमा ११ र मेट्रोमा १५ जना मारिएका जनाएका थिए ।

घटनापछि बेलायत, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्सले देशको सुरक्षालाई अतिरिक्त बढाउने घोषणा गरिसकेका छन् । घटनाबारे बोल्दै बेल्जियाली प्रधानमन्त्री चाल्र्स मिसेलले 'हाम्रो देशका लागि यो कालो समय हो' भनेका छन्  । उनले भने, 'हामीले जे कुराबाट डराइरहेका थियौं, आखिर भइछाड्यो । अन्धा, हिंस्रक र डरछेरुवाहरूले हाम्रो देशलाई नराम्ररी प्रहार गरे ।' बेल्जियम घटनालगत्तै फ्रान्सेली प्रधानमन्त्री मानुएल भाल्सले भने, 'हामी युद्धमा छौं र गएका केही महिनायता हामीलाई युरोपमा युद्धको अवस्थामा पु¥याइएको छ ।'

सुरक्षालाई ख्याल गर्दै बेल्जियमको न्युक्लियर पावर प्लान्ट खाली गराइएको छ । त्यस्तै ब्रसेल्स एयरपोर्टले आज बिहानसम्मका लागि सम्पूर्ण हवाई उडान बन्द गरेको छ । सम्पूर्ण यात्रुलाई सुरक्षित स्थलतर्फ लगिएको छ । त्यस्तै लन्डन–ब्रसेल्स रेल सेवा बन्द गरिएको छ । इस्लामिक स्टेटको पुनः आक्रमणलाई ध्यानमा राख्दै पश्चिम युरोपमा उच्च सतर्कता अपनाइएको छ । इस्लामिक स्टेटले यसअघि पेरिस आक्रमण गरेको थियो ।

सबै किसिमका सुरक्षा अपनाइने गरिए पनि विमानस्थलमा गरिने अन्तिम चेकआउटमा यस किसिमको घटना घट्ने गरेको देखिएको छ । विमानस्थलमा सबै किसिमका मानिसको आउजाउ हुने हुनाले सबै जाँच गर्न असम्भव हुँदा यस्तो घटना घट्ने गरेको केहीको धारणा छ ।

घटनालगत्तै युरोपेली सेयरबजारमा प्रभाव परेको छ । मूलतः होटल र एयरलाइन्स समूहका सेयर घटेका छन् भने सुन र सरकारी बोन्डको सेयर मूल्य बढेका छन् । बेल्जियमका गृहमन्त्री जोन जाम्बोनले घटना अब्देसलामको पक्राउविरुद्ध भएको प्रतिक्रिया दिएका छन् । अब्देसलाम फ्रान्सेली नागरिक हुन् ।

No comments:

Post a Comment