top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

तुइन विस्थापन गरिने


४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएलगत्तै घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रमअन्तर्गत जिल्लामा रहेका तीनवटा तुइन विस्थापित गरिने भएको छ । 

यस जिल्लालाई अन्य जिल्लासँग जोड्ने तीनवटा तुइन विस्थापन गरिने भएको हो । जिल्लाको कविलासमा रहेका दुईवटा र दारेचोकमा रहेको एउटा तुइन विस्थापन गर्न रु दुई करोड ३५ लाख बजेट विनियोजन गरिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सञ्जीव श्रेष्ठले जानकारी दिए  । 

जिल्लाको दारेचोकबाट गोर्खा धारापानी जोड्ने तुइन हटाएर झोलुङ्गे पुल निर्माणका लागि रु ३५ लाख, कविलासबाट तनहुँको सिमलताल र बगाडी जोड्ने दुईवटा झोलुङ्गे पुलका लागि रु दुई करोड विनियोजन गरिएको छ । तीन स्थानमा झोलुङ्गे पुल निर्माणसँगै ती क्षेत्रमा बसोबास गर्ने पाँच हजार जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । 

आर्थिक वर्ष २०७३÷७४ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । सिमलताल र कविलास जोड्ने पुलका लागि झोलुङ्गेपुल महाशाखाले काम गर्दैछ भने अन्य दुईवटाका लागि जिविसले काम गर्न लागेको जिविसका योजना अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए  । 

गोर्खा र तनहुँका ती बासिन्दा अध्ययन, स्वास्थ्य उपचार, रोजगारीलगायत कामका लागि तुइनबाट जोखिम र कष्टकर यात्रा गरेर चितवनतर्फ आउजाउ गर्न बाध्य छन् । रासस 

No comments:

Post a Comment