६ चैत । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकार शुद्धीकरण अभियान चलाउने बताउनुभएको छ ।
आज भक्तपुरमा आयोजित नेवा ः पत्रकार राष्ट्रिय दबूको दोस्रो भक्तपुर जिल्ला अधिवेशनमा उहाँले नेपाल पत्रकार महासङ्घको जिल्ला जिल्लाबाट शुद्धीकरण अभियान चलाउने बताउनुभएको हो ।
पत्रकारितालाई पेसा बनाएर २४सै घन्टा खटिने व्यक्तिले महासङ्घको सदस्यता नपाउने तर गैरपत्रकारले सदस्यता पाउने प्रवृत्तिको अब अन्त्य हुने बताउँदै उहाँले शुद्धीकरणमार्फत नै गैरपत्रकारलाई हटाउने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय अखण्डता कायम गर्ने, जातीय सद्भाव राख्ने र सबै नेपाली एक हौँ भन्ने भावना जागृत गर्ने गरी पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक राजु शाक्यले नेवा ः पत्रकारको एकता ठूलो हुँदै गएको औँल्याउँदै पत्रकारिताको विकृतिलाई हटाउन लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जन, केन्द्रीय महासचिव उदेन न्हूसायमी, पत्रकार कृष्ण प्रजापति, चन्दनकृष्ण श्रेष्ठ, राज्यलक्ष्मी शाक्यलगायतले पत्रकारितालाई जातिगतरुपमा नलागी पेसागतरुपमा आत्मसात् गरेर जानुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी आजै सम्पन्न अधिवेशनले अध्यक्षमा ईश्वरकाजी खाइजू, उपाध्यक्षमा सुन्दर शिल्पकार, सचिवमा सीमान्त शिल्पकार, सहसचिवमा रामगोपाल तमखू, कोषाध्यक्षमा दीपक श्रेष्ठ र सदस्यहरूमा नारायणप्रसाद त्यात, रीता दुवाल, सुरेश श्रेष्ठ, प्रतिमा सैजू, रमिता त्वायनावासु, राजन गरु, किरण सुवाल, प्रकाश मल्ललाई सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले कृष्णकाजी मानन्धर, रत्न श्रेष्ठ, जीतेन्द्र श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ, कृष्ण प्रजापति, कृष्णराम किसी, विनोद कोजूू, राजाराम नापित, सुमन श्रेष्ठ, बाबुकाजी श्रेष्ठलाई पार्षद्मा चयन गरेको छ । रासस
No comments:
Post a Comment